राजनीतिक उतरचढाब कारण पुनःनिर्माणको अवसर खेर गयो : डा.वाग्ले

गोरखा, भाद्र ३० ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.स्वर्णिम वाग्लेले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचना पुनःनिर्माणलाई व्यवस्थित रूपमा अघि बढाउन नसक्दा देशले ऐतिहासिक अवसर गुमाएको बताएका छन् ।
सहिद लखन गाउँपालिका–८ माजाइकाले निर्माण गरिदिएको सामुदायिक प्रशिक्षण केन्द्र भवन उद्घाटन गर्दै डा.वाग्लेले छरिएर रहेका र जोखिमयुक्त बस्तीलाई एकीकृत गरी बस्ती विकास गर्नेलगायत विकासका विभिन्न अवसर भूकम्पले सिर्जना गरे पनि नीति, नियम कार्यान्वयन नहुँदा व्यवस्थित हुने अवसर खेर गएको टिप्पणी गर्नुभयो ।
डा.वाग्लेले जथाभावी बजेट छिरोल्नुभन्दा आवधिक योजना बनाएर व्यवस्थित तवरले बजेट विनियोजन गरी खर्च गर्न स्थानीय तहलाई आग्रह गर्नुभयो ।
सो अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा.गोविन्दराज पोखरेलले घर भत्किएका वास्तविक भूकम्पपीडितलाई सरकारले अनुदान दिने बताउँदै पुनःसर्वेमा खटिएका इन्जिनीयर, सामाजिक परिचालक र स्थानीयस्तरका राजनीतिक दललाई अनावश्यक रूपमा राजनीति गरी पुनःर्निर्माणको अभियान नबिथोल्न आग्रह गर्नुभयो ।
केरौंजालगायतमा बस्ने तीन हजार परिवारलाई जोखिमयुक्त बस्तीबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्ने गृहकार्य भइरहेको जानकारी दिँदै उनले आफूखुसी सुरक्षित ठाउँमा सर्ने हो भने घडेरी खरिद गर्न रु.दुई लाख दिइने बताए ।
प्रतिक्रिया