कांग्रेसकै कारण हार बेहोर्न बाध्य : नेता खाँड

हेटौँडा, भाद्र ३१ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले स्थानीय तह निर्वाचनमा कांग्रेसले कांग्रेसलाई नै घात गरेका कारण धेरै स्थानमा हार बेहोर्नुपरेको बताएका छन् ।
कांग्रेस मकवानपुरको जिल्ला भेला एवं दुई दिने प्रशिक्षण कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै उनले प्रदेश र केन्द्रीय निर्वाचनमा पनि यस्ता घात गर्नेहरू देखिएमा पार्टी केन्द्रले कारबाही गर्ने चेतावनी दिए ।
केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायले हेटौंँडालाई प्रदेश नं. ३ को राजधानी बनाउनका निम्ति कांग्रेसले पहल गरिरहेको जानकारी दिए । केन्द्रीय सदस्य शङ्कर भण्डारीले स्थानीय तहको निर्वाचनमा भएका गल्तीलाई सच्याउँदै केन्द्र र प्रदेशको निर्वाचनमा लाग्नु आवश्यक रहेको औँल्याएका छन् ।
कार्यक्रममा कांग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ, नेपाल तामाङ संघका अध्यक्ष काविल तामाङ, कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेलगायतले पार्टीभित्र मौलाउँदै गएको अन्तरघात प्रवृत्तिले पार्टीलाई फाइदा नहुने बताए । शनिबारसम्म चल्ने प्रशिक्षणमा जिल्लाभरका करिब दुई सय अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।
प्रतिक्रिया