‘मेची–महाकाली अभियान’को क्रममा एमालेद्वारा देशव्यापी भण्डाफोर गर्ने तयारी

काठमाडौं, फागुन २६ ।
प्रमुख विपक्षी दल नेकपा (एमाले)ले सप्तरीमा भएको आक्रमणको देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको छ । ‘मेची–महाकाली राष्ट्रिय अभियान’का क्रममा सप्तरीको सदरमुकाम राजविराजमा नेतृत्वको सामूहिक हत्या गर्ने योजनासहित आक्रमण भएको भन्दै देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको एमाले सचिवालय बैठकले राजविराज घटनाको भण्डाफोर जरुरी रहेको दाबी गर्दै सबै जिल्ला सदरमुकाममा आमसभा गरी घटनाबारे जानकारी गराउने निर्णय लिएको हो । राजविराज घटना र मेची–महाकाली राष्ट्रिय अभियानका बारेमा जानकारी दिन देशभरका सबै जिल्लामा आमसभा आयोजना गर्ने निर्णय बैठकले गरेको सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।
बैठकले आमसभाको मिति तय गरी कार्यक्रम गर्न सबै जिल्ला कमिटीलाई निर्देशनसमेत दिएको छ । बैठकले राजविराज घटनाको विषयमा वास्तविक जानकारी गराउने उद्देश्यले आज राजधानीमा वृहत् कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।
भेलामा उपत्यकास्थित पार्टी सदस्य, मोर्चा संगठनका सदस्य र सम्पर्क कमिटीका सम्पूर्ण सदस्यलाई अनिवार्य उपस्थित जनाउन निर्देशनसमेत दिएको छ । यसैगरी, अभियान पनि पूर्ववत् रूपमा सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले आक्रमणको भण्डाफोर गर्न प्रदेश नम्बर २ स्तरीय विस्तारित अगुवा कार्यकर्ता भेला आयोजना गर्नुका साथै प्रदेश–२ अन्तर्गतका आठ वटै जिल्लामा कार्यकर्ता भेला, जिल्लास्तरीय सभा गर्ने निर्णय गरेको छ । एमालेले जिल्ला–जिल्लामा भइरहेको अलोकतान्त्रिक एवं अपराधिक क्रियाकलाप रोक्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई चेतावनी पनि दिएको छ । एमालेले मोर्चाको आतंकले सीमा नाघेको भन्दै सुरक्षा व्यवस्था मिलाउनुका साथै अपराधिक कार्यमा संलग्नहरूमाथी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया