संविधानपछिका दुई वर्ष : निर्वाचनसँगै कार्यान्वयनमा सार्थकता

काठमाडौं, असोज २ ।
प्रकाश सिलवाल– नेपाली जनताका प्रतिनिधिले पहिलोपटक जारी गरेको ‘नेपालको संविधान’ कार्यान्वयनको दुई वर्ष पुग्दा मुलुकको राजनीतिक संक्रमणकाल अन्त्यतर्फ उन्मुख हुँदैछ ।
संघीयतासहितको नयाँ संविधानको सन्दर्भमा सातै प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न हुनु, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तय हुनुले मुलुक अब आर्थिक समृद्धिको मुद्दामा केन्द्रित हुने दिशामा अघि बढेको छ ।
संघीयताभित्रको सीमांकनका केही विषयमा तराई–मधेस केन्द्रीत दलले संविधान संशोधनको माग गर्दै आए पनि व्यवस्थापिका–संसद्मा त्यसका लागि दुईतिहाई नपुगेपछि ती दल पनि निर्वाचनमा होमिएका छन् । यद्यपि, सत्तारुढ दलले निर्वाचनपछि संशोधनको प्रस्ताव ल्याउने जनाइरहेका छन् ।
लामो समयदेखिको केन्द्रीकृत राज्य प्रणालीलाई विस्थापन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्ने संकल्प गरेको नेपालको संविधान, २०७२ ले मुलुकको दिगो शान्ति, विकास र समृद्धि हुँदै समाजवादको परिकल्पनासमेत गरेको छ ।
पहिलोपटकको संविधानसभा निर्वाचन (२०६४) बाट बन्न नसकेको संविधान दोश्रो संविधानसभा निर्वाचन (२०७०) पछिको संविधानसभाले प्रमुख तीन दलको सहमतिमा २०७२ असोज २ गते जारी गरेको थियो ।
तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संविधानसभाबाट उक्त संविधान जारी गर्नुभएको थियो ।
विगतको सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गराउन सबै तहको निर्वाचनपछिका सरकारले ल्याउने खाकामा संविधानको थप सफलता निर्भर रहनेछ ।
संविधान ल्याउन एकै ठाउँमा उभिएका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच यसबीचमा फरक/फरक सत्ता गठबन्धनका अभ्यास भए पनि संविधान कार्यान्वयन र निर्वाचन गराउने सन्दर्भमा अहिले पनि एकै ठाउँमा छन् ।
नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीका अनुसार राजनीतिक रूपमा संविधान कार्यान्वयनका चरण पूरा हुँदैछन् । आगामी मंसिरमा संघ र प्रदेशको निर्वाचनपछि मुलुकले स्थायित्व प्राप्त गर्नेछ । यसले स्वदेश र विदेश सबैतिर संविधानप्रति आस्था र विश्वास जगाएको छ ।
‘के निर्वाचनपछि संविधान संशोधन हुन्छ’ भन्ने प्रश्नमा पूर्वमन्त्री एवं सांसद जोशीले त्यो आवश्यकताका आधारमा क्रमिक रूपमा हुँदै जाला तर मूलरूपमा तीन चरणको निर्वाचनले संविधान कार्यान्वयनको सुनिश्चितता गरेको मान्नुपर्छ ।
नेकपा (एमाले)का सचिव योगेश भट्टराई संविधान मान्दिन भन्दै आएका मधेस केन्द्रित दल पनि निर्वाचनमा सामेल हुनु संविधानको सफलताका साथै आफ्नो दलले उठाउँदै आएको मुद्दाको सार्थकता हो भने । लोकतन्त्रमा जनताको मत लिएर जनताका सेवा सुविधा दिन राज्य र दल केन्द्रित हुनुपर्छ, निर्वाचन हुने क्रमले जनतामा आशा पलाएको छ’ उनले भने ।
नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीका विचारमा संविधान बन्न सक्दैन भन्ने आशंकाबीच संविधान जारी भयो । सबै प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यो दिनको झझल्को बिहानीले दिए सरह भएको छ । अब बाँकी निर्वाचन पनि निर्वाधरूपमा हुन्छ । अब मुलुक पूर्वाधार, आर्थिक विकास र समृद्धितर्फ उन्मुख हुने रायमाझीले जनाए ।
संविधानबमोजिम २०७४ माघ ७ गतेभित्र स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन गर्नुपर्ने छ । यसबीचमा राज्य पुनःसंरचना आयोग र निर्वाचन क्षेत्र निर्धारण आयोगका प्रतिवेदन आई कार्यान्वयन भइसकेका छन् । संघीयता अनुकूलका कानुन बन्ने क्रम सुरु भएको छ भने नयाँ संवैधानिक आयोगको गठन प्रक्रिया सुरु भएको छ ।
प्रतिक्रिया