पटक–पटक संविधान संशोधन गर्ने कोशिसलाई एमालेले विफल पार्‍यो : अध्यक्ष ओली

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलवार १७:५१


काठमाडौं, असोज ३ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको संसद्ले उपर्युक्त सरकार बनाउन नसकेको बताएका छन् । संविधान दिवसको अवसरमा आज एमालेद्वारा आयोजित एक कार्यक्रममा उनले संसद्ले केही गलत कामलाई रोक्न सफल भए तापनि अनुपर्युक्त सरकार बन्नबाट भने रोक्न नसकेको बताएका हुन् ।’

‘आधारभूत रूपमा यो संसद् ठीक छ । यसले गलत काम गर्नबाट रोक्यो । तर अनुपर्युक्त सरकार बनाउनबाट रोक्न सकेन’ उनले भने । संविधान कार्यान्वयन नगर्ने बरु पटक–पटक संशोधन गर्ने कोशिसलाई एमालेले विफल बनाएको अध्यक्ष ओलीले बताए ।

अहिलेको सरकार खान मात्र जन्मेको भन्दै उनले मंसिरमा समय सकिन्छ भनेर छिटो छिटो खानतिर मात्र लागेको बताए । ‘यो सरकार खान जन्मेको हो, मंसिरमा समय सकिन्छ छिटो छिटो खानुपर्छ भनेर लागेका छन्’ उनले भने ।

स्थानीय तहको तेश्रो चरणको निर्वाचनको मनोनयन चलिरहेकै समयमा मन्त्री थपेको र ६० जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको भन्दै ओलीले सरकार कुनै उपयोगी काम गर्नुभन्दा पनि राज्य श्रोतको दोहनमा लागेको बताए । ‘यीनका जति पनि सदस्य छन् । सबैलाई मन्त्री बनाउने योजनामा छन्’ उनले भने, हामीलाई लाज भइसकेको छ तर, उनीहरूलाई लाज भएको छैन ।’ विगतमा आफूले ४० सदस्यीय मन्त्रिपरिषद् बनाउँदा गरिब देशमा यति धेरै मन्त्री बनाएर खर्च बढाएको भनेर बुद्धिजीवि र मिडियाले कोकोहोलो मच्चाए पनि अहिले उनीहरू भित्तातिर फर्केर बसेका ओलीले टिप्पणी गरे ।

सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन क्षेत्र पनि जथाभावी विभाजन गरेको भन्दै ओलीले चुनाव गर्ने र संविधान कार्यान्वयन गर्नका लागि मात्र आफूहरूले स्वीकार गरेको बताए । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पदच्यूत गरेकोमा टिप्पणी गर्दै अध्यक्ष ओलीले भरियालाई मात्र कारबाही गरिएको बताए । ‘भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ । हाम्रो सबैभन्दा ठूलो मुद्दा यही हो’ उनले भने, ‘तर आयल निगममा भरियालाई मात्र कारबाही गरियो । भारी बोकाउनेलाई कारबाही हुन सकेन । त्यसमा संलग्नता को–कसको थियो भन्ने कुराको खोजी भने भएन ।’

आफू नेतृत्वको सरकारको पालामा पोखरा विमानस्थल उद्घाटन गरेको आरोपमा नागरिक उड्डयन प्राधिकरणका प्रबन्ध–निर्देशकलाई स्पष्टीकरण सोधिएको भन्दै उनले आपत्तिसमेत जनाएका छन् । ‘केपी ओली प्रधानमन्त्री हुँदा किन पोखरा एयरपोर्ट किन शिलान्यास गरिस् भनेर स्पष्टीकरण सोधेको रहेछ । म सरकारलाई सचेत गराउन चाहन्छु यो देशमा एमाले पनि छ ।’


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....