जारी प्रदेश नं. २ मा सबै दलको रणनीति असफलतर्फ

काठमाडौं, असोज ९ ।
तेश्रो चरणको सम्पन्न स्थानीय तह निर्वाचन परिणामले संविधान निर्माण र गणतान्त्रिक आन्दोलनका सहयात्री दलहरूको पक्षमा दुई तिहाईभन्दा बढी जनमत रहेको देखाएको छ । गणतान्त्रिक आन्दोलन र संविधान निर्माणका सहयात्री दलले ८८ प्रतिशतभन्दा बढी स्थान जितेका छन् ।
तीन चरणमा सम्पन्न निर्वाचनअन्तर्गत संविधान पक्षधर दलले कूल सात सय ५३ मध्ये छ सय ६४ स्थानीय तहमा जित हासिल गरेका हुन् । पहिलो र दोश्रो चरण निर्वाचन भएका प्रदेश १, ३, ४, ५, ६ र ७ को परिणाम यसअघि नै आइसकेको छ भने तेश्रो चरणमा असोज २ गते निर्वाचन भएका प्रदेश २ का जम्मा आठ तहको परिणाम आउन बाँकी रहेको छ ।
गणतन्त्रपछिको पहिलो स्थानीय तहको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल एमाले एक्लैले सबैभन्दा बढी दुई सय ९३ स्थानीय तहमा जित हासिल गरेको छ भने सत्ताको नेतृत्व गरेको कांग्रेस एमालेभन्दा करिब ३० स्थानले पछाडि परेको छ । पहिलो र दोस्रो निर्वाचनमा दोस्रो बनेको उसले तेस्रो चरणमा भने झिनो बहुमत पाएको छ । प्रदेश २ को निर्वाचनबाट पहिलो र दोस्रो चरणको घाटा पूर्ति गर्ने उसको रणनीति असफल भएको छ । जबकि उसले प्रदेश २ लाई आफ्नो आधार क्षेत्रका रूपमा लिँदै आएको थियो ।
राष्ट्रवादी आन्दोलनको कडीका रूपमा मधेशमा बहुमत ल्याएर नयाँ रेकर्ड तोड्ने लक्ष्यसहित प्रदेश २ को चुनावमा होमिएको एमाले पाँचौं स्थानमा खुम्चिएको छ भने माओवादी, संघीय समाजवादी फोरम नेपाल र राजपाको संविधान संशोधन र मधेश आन्दोलन पक्षधर जनमतलाई पक्षमा पार्दै पहिलो हुने रणनीति असफल भएको छ । यद्यपि, सत्ताको दोस्रो घटक माओवादी केन्द्र र फोरम नेपाललाई प्रदेश २ को निर्वाचनले सबैभन्दा बढी फाइदा पुगेको देखिएको छ ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले परिवर्तन र संविधान निर्माणका सहयात्री दलले करिब ८८ प्रतिशत जनमत पाउनु संविधान कार्यान्वयनको सुनिश्चितताका लागि सबैभन्दा ठूलो उपलब्धि रहेको बताए । सबै प्रकारका संविधानविरोधी शक्ति केन्द्र र दलहरू परास्त भएको उनको भनाई छ । राज्य र अन्य सबै दल लाग्दा पनि एमालेलाई पहिलो दल हुनबाट रोक्न नसकेको उनले बताए । ‘राज्यको ज्यादती र प्रदेश २ मा निषेधका बाबजुद पनि एमालेले आमजनताको समर्थन पायो । हामीले यो परिणामलाई सकारात्मक रूपमा लिएका छौं’, उनले भने ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका कृषिमन्त्री रामकृष्ण यादवले प्रदेश २ मा आफूहरूले पाएको मत अपेक्षाअनुसार नभएको बताए । ‘नेपाली–नेपालीबीच विभाजन गराउने र खोक्रो राष्ट्रवादको नारा दिनेहरूविरुद्ध मधेशी जनताले मतदान नगर्ने हाम्रो बुझाई सही भएन’, उनले भने, ‘अर्कोतर्फ कांग्रेसभित्रको कलह र चुनावी गृहकार्यसमेत पर्याप्त कार्यान्वयनमा आएन ।’
राजपा अध्यक्ष महन्थ ठाकुरले स्थानीय तह निर्वाचनमा आफूहरूले भाग लिए पनि नयाँ संविधान स्वीकार नगरेको बताए । ‘हामीले चुनावमा भाग लियौँ भनेर सत्तापक्ष खुसी मनाइरहेको छ तर हामीले उपस्थिति जनाएका मात्रै हौँ । स्वीकार गरेका छैनौँ । संविधानको विरोध छाड्दैनौँ’, उनले भने, ‘यद्यपि, राजपाले पाएको जनसमर्थनका लागि आमजनतालाई हामी धन्यवाद दिन्छौँ ।’ पार्टीको केही दिनपछि बस्ने पदाधिकारी बैठकले चुनावी समीक्षा र आगामी दिनको भूमिकाका विषयमा निर्णय गर्ने उनले जानकारी दिएका छन् ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छापिएको छ ।
प्रतिक्रिया