खड्ग नगरपालिकालाई नमूना नगरपालिका बनाउने प्रमुख र उप–प्रमुखको प्रतिबद्धता

लहान, असोज ९ ।
सप्तरीको खड्ग नगरपालिकाका नवनिर्वाचित प्रमुख हेमायु हकले यस नगरपालिकालाई नमूना नगरपालिकाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
निर्वाचित पदाधिकारीको शपथग्रहण तथा पदभारग्रहण कार्यक्रममा उनले भने, सबै पक्षसँग समन्वय र सहकार्य गरी नमूना नगरका रूपमा विकास गर्ने कार्यमा हामी प्रतिबद्ध छौं ।
प्रमुख हकले बिद्यमान स्रोत र साधनको अधिकतम उपयोग गरी नगरक्षेत्रभित्र स्वरोजगारी सृजना गर्ने कार्यलाई नगरपालिकाले उच्च प्राथमिकता दिइने बताए ।
कार्यक्रममा नवनिर्वाचित उप–प्रमुख यासमिन सुल्तानले नगरको समग्र विकासका लागि सबैसँग हातमा हात मिलाएर अघि बढ्ने बताए ।
निर्वाचन अधिकृत रीताकुमारी बख्रेलको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख सुदेवकुमार पोखरेलले नगरको विकास तथा जनताको हितमा काम गर्न नवनिर्वाचित नगरप्रमुख लगायतका पदाधिकारीलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया