स्वास्थ्यसँग खेल्ने अधिकार कसैलाई छैन : दाहाल

प्रकाशित मिति: १० आश्विन २०७४, मंगलवार १५:५५


चितवन, असोज १० ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अनियमितता, भ्रष्टाचार र जनताको स्वास्थ्यसँग खेल्ने अधिकार कसैलाई नरहेको बताएका छन् ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको १८ औँ वार्षिकोत्सव तथा १३ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७४ का अवसरमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रमा सानो त्रुटिका कारण मानिसको ज्यानै जान सक्ने भएकाले मानवीय संवेदनामा कसैले खेल्न नपाउने बताए ।

स्वास्थ्य संस्था धराशायी बनाउने अधिकार कसैलाई छैन भन्दै उनले त्यस्तामाथि कारबाही गर्नुपर्ने बताए । अस्पताललाई दक्षिण एशियाको नमुना अस्पताल बनाउन र स्वास्थ्य पर्यटनको विकास गर्न संकल्प र इच्छाशक्ति हुनुपर्ने सुझाव उनले दिए ।

कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य क्षेत्र सुधारका लागि कर्मचारीको संकल्प आवश्यक छ भन्दै अत्याधुनिक उपकरण भित्र्याउनुपर्ने बताए । नेपाली कांग्रेसका नेता थापाले आउँदो सात वर्षभित्र देशका सरकारी अस्पतालमा उच्च गुणस्तरका रु.४० अर्बभन्दा बढीको उपकरण भित्र्याउनुपर्ने बताए ।

सो अवसरमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा.प्रकाशचन्द्र न्यौपाने र कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यले अस्पतालका प्रगति, समस्या र भावी कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । सोही अवसरमा अस्पतालको नवनिर्मित भवनमा ८० शय्या सञ्चालनको शुभारम्भ गरिएको थियो ।

अस्पतालमा बिरामीको चाप बढेसँगै शय्या विस्तार गरिएको छ । दुई सय शय्याको निर्माणाधीन भवनको काम सम्पन्न भएको स्थानमा आजदेखि थप ८० शय्या सञ्चालनमा ल्याइएको हो । यससँगै अस्पतालको शय्या २७४ पुगेको छ । कार्यक्रममा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

सांसद अञ्जनी श्रेष्ठ र गीता वाग्ले, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, अस्पतालका पूर्वअध्यक्ष गंगाप्रसाद उप्रेती, काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला इञ्चार्ज ईश्वरी भट्टराई, राप्रपा(प्रजातान्त्रिक)का जिल्ला सभापति बद्री तिमिल्सिना, प्रजिअ नारायणप्रसाद भट्ट, अस्पताल सञ्चालक समितिका सदस्य दिनेश कोइराला, अस्पतालको चाइनिज मेडिकल टिम लिडर डा युअन हावजुन, अस्पताल सञ्चालक समितिका पूर्वअध्यक्ष डा गिसुपनिख प्रसिको, क्यान्सर सेवा समाजका अध्यक्ष श्याम लामिछानेलगायतले बोल्नुभएको थियो ।

 


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....