एमालेको मुख्य अडान राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय : नेता नेपाल

चितवन, असोज १० ।
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय एमालेको मुख्य अडान रहेको बताएका छन् ।
नेकपा एमाले चितवनले आज आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उनले यी अडानबाट विगत, वर्तमान र भविष्यमा एमाले कहिल्यै नचुक्ने स्पष्ट पारे ।
नेता नेपालले विगतका आन्दोलन र त्यसका परिणाम एमालेकै राष्ट्रियताको अडानले सफल भएको भन्दै यी सवालमा एमाले कहिल्यै कसैसँग नझुक्ने र सम्झौता नगर्ने धारणा व्यक्त गरे ।
एमाले महिला, मधेशी, जनजाति, दलित, अल्पसङ्ख्यक लगायतको पक्षमा रहेको कुरा व्यवहारबाटै देखिएको भन्दै उनले पहिलो राष्ट्रपति मधेशी, पहिलो सभामुख जनजाति, दोस्रो राष्ट्रपति महिला भएको स्मरण गराए ।
नेता नेपालले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताको पक्षमा काम गर्न आग्रह गर्दै जनताको अपेक्षाअनुसार काम गर्नुहास् भने ।
जनप्रतिनिधि र जनताका बीचको सम्पर्कलाई मजबुद बनाएर स्थानीय तहमा विकासमा जुट्न पनि उनले आग्रह गरे । नेता नेपालले भने, जनप्रतिनिधि बेसाहाराको साहारा बन्नुपर्छ ।
जिल्लाको स्थानीय तहमा नेकपा (एमाले)बाट निर्वाचित ३०८ जना जनप्रतिनिधिलाई नेता नेपालले सम्मान गर्दै जनताको घरदैलोमा पुगेर काम गर्न पनि आग्रह गरे ।
कार्यक्रममा नेकपा (एमाले)का प्रदेश नं ३ का सहसंयोजक एवं पोलिटब्यूरो सदस्य काशिनाथ अधिकारीले स्थानीय तहमा पार्टीले पाएको सफलतालाई केन्द्र र प्रदेशको निर्वाचनमा अझै बढी सफलता पाउने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिए ।
सो अवसरमा नेकपा (एमाले)का वैकल्पिक केन्द्रीय सदस्य कृष्ण खनाल, केन्द्रीय अनुशासन आयोगका सदस्य एवं खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी, नेकपा (एमाले) चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, उपाध्यक्ष तेजेन्द्र खड्का लगायतले बोलेका थिए ।
प्रतिक्रिया