एमाले अध्यक्ष ओलीको दाबी ‘मलाई मारेर कसैलाई फाइदा हुँदैन’

हेटौँडा, फागुन २७ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुक भारतले नेपाली भूमिमा प्रवेश गरेर नेपालीलाई मार्दासमेत वर्तमान सरकारले एक शब्द नबोल्नुमा भारतप्रति झुकाब रहेको दाबी गरेका छन् ।
सप्तरीको राजविराजमा भएको दुःखद् घटनापश्चात् एकाएक तीन दिनका लागि स्थगित गरिएको ‘मेची–महाकाली राष्ट्रिय अभियान’ आजदेखि पुनः हेटौँडाबाट सुरु भएको सो अभियानमा बोल्दै उनले दशगजामा भारतीय सुरक्षाकर्मीले नेपालीको हत्या गर्दा पनि सरकार चुप लागेर बसेको भन्दै भत्र्सनासमेत गरे ।
अध्यक्ष ओलीले मुखले मात्र मित्र राष्ट्र नहुने बताउँदै भारतलाई व्यावहारले सच्चा मित्र राष्ट्र भएको देखाउन आग्रह गर्दै उनले सप्तरीमा एमालेका नेताहरूलाई मार्न खोजेको आरोपसमेत लगाएका छन् । एमालेमा हजारौँ नेता रहेको भन्दै ओलीले आफूलाई मारेर कसैलाई केही फाइदा नहुने बताए ।
‘एकता, स्वाधीनता, राष्ट्रियताको अभियान ओली मारेर रोकिँदैन, यो निरन्तर चलिरहनेछ, उनले भने, ‘एमाले टाट्नामा बाँधेको बाख्राको पाठो होइन, कसैले चाहँदैमा मार्न सक्दैन ।’
एमाले नेताहरू लामो संघर्ष गरेर आएको बताउँदै अध्यक्ष ओलीले कसैले भाला, लाठीको जुलुस निकाल्दैमा आफूहरू पछि नहट्ने बताए । अभियानअन्तर्गत भोलि शनिबार एमालेले नवलपरासीमा वृहत आमसभा गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया