दशैँ नमनाउने खोकनामा सिकाली जात्रा धुमधामका साथ मनाइयो ( फोटोफिचर )

काठमाडौं, असोज १२ ।
दशैंले सबैतिर रमझमको माहोलले छोएको बेला ललितपुरको खोकनामा भने दशैँको कुनै चहलपहल छैन । स्थानीयहरूमा न टीका लाउन जानेको घुइँचो छ न पिङ र उत्सवको माहौल ।काठमाडौँदेखि पाँच किलोमिटर दक्षिणमा पर्ने खोकनामा करिब ६ हजार मानिसहरू बसोबास गर्छन् । यहाँका कोही पनि वासिन्दाले दशैं मान्दैनन् । दशैंको बेला यहाँ छुट्टै जात्रा मनाइन्छ ।
कुखुरा वर्जित गाउँका रूपमा पनि खोकना गाउँलाई चिनिन्छ । पुरै गाउँभरी कुखुरा पाल्न नहुने हुँदा स्थानीयहरू हाँस पाल्ने गर्छन् । खानेतेलको लागि पनि यो गाउँ नेपालभर प्रसिद्ध छ । घटस्थापनाका दिन धेरै नेपालीहरूको घरमा जमरा राख्ने जमर्को हुँदा घटस्थापनाको दिनदेखि खोकनामा सिकाली जात्राको चहलपहल सुरु हुन्छ ।
दशैँ अवधिभर खोकनामा सिकाली जात्रा, रुद्रायणी देवीको नाच, क्वँ(घ्याम्पो)जात्रा, रुद्रायणी देवीको खट जात्रा चल्ने गर्छ । प्राचीनकालमा खोकना पूर्णरुपमा बौद्ध धर्मावलम्बीहरूको बस्ती थियो । यहाँ हिंसा र काटमार नै चल्दैन थियो । लिच्छवीकालमा शुरू भएको क्वँद्यो(घ्याम्पो) जात्रा खोकनाको मौलिक परम्परा हो ।
‘सिखाली’ शब्दबाट अपभ्रंस भएर सिकाली भएको मानिन्छ । प्राचीनकालमा फूल र अबिरको मात्र जात्रा हुने गरेको खोकनाका स्थानीय सानुबाबु शाहीले बताए । सिकाली जात्राका क्रममा खोकनामा रहेका तःगुठी,सनागुठी र जः गुठीको गरी प्रत्येक गुठीबाट ३ र ३ वटा क्वँद्यो (घ्याम्पो) गरी कूल नौवटा क्वँद्योः बनाई जात्रा गर्ने परम्परा रहेको शाहीले बताए ।
नेपाल सम्बत ६३३ तिर राजा अमरमल्लले स्थानीय पैताखलकहरूले चलाउँदै आएको नाटक मञ्चनलाई दशैंको बेला जात्राका रूपमा चलाउन सुझाएको र तत्पश्चात् रुद्रायणी देवीको नाच प्रचलनमा रहेको छ । यसरी हिंसाविरोधी गाउँका रूपमा रहेको खोकनामा दशैं नमनाउने गरेको जनविश्वास छ ।
प्रतिक्रिया