विजयादशमीको आज नवौँ दिन महानवमी पर्व धुमधामसँग मनाइँदै

प्रकाशित मिति: १३ आश्विन २०७४, शुक्रबार ०८:०६


काठमाडौं, असोज १३ ।
आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ ।

आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवं देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिनेहरूले भने आज कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवल समेत बलि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई बध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइन्छ ।

हनुमानढोका दरबारमा रहेको वर्षमा एक पटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । वर्षमा एक दिन मात्र खुल्ने भएकाले आज यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्छ ।

महानवमीका अवसरमा आज नेवार समुदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने गर्छन् ।


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....