किन ग्रहण गर्छन् आदिबासी थारुले दशैँमा सेतो टीका ?

काठमाडौं, असोज १५ ।
नेपाली समाजमा अधिकांशले रातो रङ्गको टीका लगाउने गर्छन् । तर नेपालको दक्षिणी समथर सिमानामा बसोबास गर्ने आदिबासी थारु र पहाडमा बसोबास गर्ने केही आदिबासीहरुले चाडपर्वमा रङ्गीविरङ्गी टीका ग्रहण गर्दैनन् । प्राकृतिक सेतो रङ्गकै टीका ग्रहण गर्दछन् ।
थारु समुदायले दशैँमा अभिभावकबाट प्रसादकोरुपमा ग्रहण गर्ने टीका सेतो हुन्छ । थारु बुद्धिजिवीहरुले थारु समुदायलाई प्रकृतिपूजक मान्छन् । प्रकृतिसँग लडीबुडीगर्दै हुर्केबढेकाले परापूर्वकालमा रङ्गको उत्पादन नहुँदा सेतो रङ्गसँगै लहसिए । त्यही रङ्गको प्रयोग गर्दै अहिलेसम्म सेतो टीका लगाउने प्रचलन कायमै रहेको मानिन्छ ।
चामलको पीठोको टीकासहित जमरा, बेबुरी (बाबरी) को फूल दशैंमा थारुले ग्रहण गर्छन् । अरुबेला दौनाबेबुरीको फूल प्रयोग नहुने हुनाले थारु समुदायले दशैंमा टीकासँगै विशेष रूपले ग्रहण गर्छन् ।
थारु समुदायकाले निधारमा मात्रै दशैंको टीका लाउँदैनन् । पाखुरा, घुँडा, पैतलामा समेत लाउँछन । यसको अर्थ निधार, काम गर्ने पाखुरा, घुँडा र पैतला बलियो होस् भन्ने मनोकामना गरिन्छ ।
थारु संस्कृतिकका जानकार अशोक थारुले प्रकृति र आदिमजातिको सम्बन्ध अटुट रहेको र अन्य कृत्रिम रङको उत्पत्ति नहुँदै प्राकृतिक रङ सेतोमात्र भएकाले त्यही रङ पहिलेदेखि चलनचल्तीमा ल्याइएको बताएका छन् । उनका अनुसार सेतो रङसँग थारुको प्राकृतिक सम्बन्ध भएकाले त्यही सम्बन्धलाई कायम राख्न थारुलगायतका आदिबासीहरु सेतो रङको प्रयोग गर्ने गरेको हो ।
प्रतिक्रिया