होली विशेष : होली र यौनको सम्बन्ध

“अबिरया होलि, तँ चाया ला ल्यासे
अबिरं छंगु ख्वाः, हिसि दयेका बी
होलिया मेला, मय्जु मस्यूला
अबिर भचाः न, तये मज्यूला”
‘अबिरको होली, रिसाएको युवती, अबिरले तिम्रो अनुहार राम्रो बनाई दिन्छु, होलीको मेला मायालाई थाहा छैन, अबिर अलिकति पनि राख्नु हुन्न’ यो गीत हरेक वर्ष फागु पूर्णिमाको दिन रेडियोलगायत होलि खेल्ने सबै युवायुवतीले गुञ्जिने गीत हो ।
वसन्त ऋतुको आगमनसँगै रङ र खुसीको पर्वका रूपमा धुमधामसँग मनाइने फागु पर्व आज नेपालका पहाडी क्षेत्रमा धुमधामका साथ मनाइँदैछ । तराई क्षेत्रमा भने भोलि सोमबार फागु पर्व मनाइँदै छ । विशेषगरी यौन रसयुक्त र महिलालाई लक्षित गरी गीत गाउने र व्यंग्य गर्ने यस फागु पर्वमा भक्तपुरमा भने बेग्लै रौनक र तरिकाले मनाउने गरिन्छ ।
फागु पर्वको सुरुवात भएको जनाउन काठमाडौंको बसन्तपुरमा चीर गाडेसँगै भक्तपुरको तचपालमा पनि चीर गाड्ने गरिन्छ । चीर गाडेसँगै तचपाल भीमसेन मन्दिरमा रहेको पाटीमा भीमसेन र द्रौपदीको यौन समागमको प्रतीकस्वरूप काठको बडेमानको लिङ्ग र लिङ्गले बीच भागमा प्वाल बनाएको रातो कपडा प्रदर्शनमा राखिन्छ । सोही दिनदेखि यौन रसयुक्त गीत गाउँदै बटुवालाई मनोरञ्जन दिने गरिन्छ ।
फागु पर्वलाई विशेषगरी नेवार समुदायमा महिला लक्षित पर्वका रूपमा लिने गरेको पाइन्छ । होलीका परम्परागत लोकभाका र गीतसङ्गीत पनि महिला र यौनसँग सम्बन्धित रहेका छन् । वसन्त ऋतुको आगमनसँगै बोटबिरुवामा पालुवा पलाउने र जताततै हरियाली देखिन थाल्ने तथा फूल फुल्न थाल्ने मनोरम वातावरणले मानिसको मन मष्तिष्कसमेतमा एक खालको तरङ्ग पैदा गर्ने भएकाले चञ्चल मन यौनतर्फ आकर्षित हुने संस्कृतिविद्हरूको भनाई रहेको छ ।
वसन्त ऋतुको आगमनसँगै रुख बिरुवामा नयाँ पालुवा आउने र त्यससँगै मानिसमा कामवासना जागृत हुने समय भएकाले फागु पर्वमा यौन रसयुक्त गीत प्रचलनमा आएको संस्कृतिविद्हरू बताउँछन् ।
संस्कृतिविद्हरूकाअनुसार १७ औँ शताब्दीदेखि यस्तो चलन चलेको हो । कृषि पेशामा संलग्न उपत्यकाबासी वसन्त ऋतुको आगमनसँगै केही फुर्सदिला हुने र फुर्सदमा मनोरञ्जनतर्फ आकर्षित हुने तर तत्कालीन समयमा मनोरञ्जनको साधन कम भएकाले सुन्दरी युवतीको खोजमा निस्कने परम्पराको विकाससँगै फागुमा बढी यौन रसयुक्त सङ्गीत गुञ्जने गरेको भनाई छ ।
यसैकारण कसै–कसैले यसलाई अश्लील पर्वका रूपमा चित्रण गर्ने प्रयास गरेको पाइएको छ । संस्कृतिविद्हरू यसलाई अश्लील पर्वका रूपमा नभई विशुद्ध सांस्कृतिक पर्वका रूपमा लिनुपर्ने बताउँछन् । फागु पर्वले मानिसमा विद्यमान भेदभाव अन्त्यको सन्देश दिने उल्लेख गर्दै संस्कृतिविद्हरू केटाकेटी, युवायुवती, सबै जातजाति फागुको रङमा रङ्गिने र सबैले खुसीको रङ साटासाट गर्ने भएकाले यो चाड समावेशी चाडसमेत भएको बताउँछन् ।
यसैगरी, संस्कृतिविद् एवं इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठले प्राचीनकालदेखि नै समाज पुरुष प्रधानका रूपमा विकास भएसँगै महिलालाई यौनको प्रतीकका रूपमा लिने र महिलालाई यौन चाहना पूरा गर्ने साधनका रूपमा लिने प्रवृत्ति विकास भएकाले फागुमा महिला लक्षित गीत सङ्गीत गुञ्जने गरेको बताए ।
उनले फागु पर्वलाई प्रेम दिवसका रूपमा लिने प्रचलन भएकाले फागुमा यौनरस र प्रेमरसका गीत गाउने प्रचलन रहेको बताए । भक्तपुरको तचपाल टोलमा गाडिने चीरसँगै भीमसेनको लिङ्गका प्रतीक काठको लिङ्ग प्रदर्शनमा राखिनुले पनि होली महिला केन्द्रित पर्व भएको पुष्टि हुने श्रेष्ठको भनाई छ ।
फागु विजयको हर्षोल्लासका रूपमा एकापसमा रङ दलेर नाचगानका साथ मनाइने पर्व हो । दिल खोलेर स्वतन्त्र भई नाचगान गर्ने पर्व, मेलमिलापको पर्व, उन्मत्त भएर आफैँभित्र हराउने पर्व तथा तनमन रङ्गाउने पर्वका रूपमा प्रचलित फागु पर्वका अवसरमा भक्तपुरका स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःले आ–आफ्ना बाजाको पूजा गर्ने र बाजागाजासहित एकापसमा अबिर दलेर टोल छिमेक परिक्रमा गरी मनाउने गर्दछन् ।
युगौँदेखि मनाइँदै आएको फागु पर्वलाई अहिलेका युवा पुस्ताले पर्वको महत्व बुझ्न नसक्दा समाजमा फागु पर्व सामाजिक विकृतिका रूपमा देखिन थालेको छ । उमेर, लिङ्ग र नाता सम्बन्धमा कुनै बाधा अड्चन नराखी रङ्गीविरङ्गी रङ एकआपसमा लगाएर वातावरणलाई नै रङ्गिन बनाई मनाइने फागु पर्वमा युवापिँढीले उच्छृङ्खल क्रियाकलाप गर्दा त्रासको पर्वमा परिणत भएको संस्कृतिकर्मी बताउँछन् ।
शास्त्रअनुसार हिरण्य कश्यपु नामका राक्षसको छोरा प्रल्हाद असाध्यै बिष्णु भक्त थिए । उनको बिष्णु भक्तिले सारा राक्षसी साम्राज्य नै हल्लिन थालेपछि प्रल्हादलाई मार्न हिरण्य कश्यपुले अनेक हतकण्डा अपनाउँछ । तर प्रल्हादलाई केही हुँदैन । हिरण्य कश्यपुकी बहिनी होलिकालाई उनको तपस्याबाट प्रशन्न भएर अग्नि देवले आगोले छुन नसक्ने वरदान दिएको थियो ।
यस्तैमा एक दिन हिरण्य कश्यपुले आफ्नी बहिनी होलिकालाई प्रयोग गरी बिष्णु भक्त छोरा प्रल्हादलाई अग्निमा दहन गर्ने योजना बनाउँछ । सो योजनाअनुसार होलिका प्रल्हादलाई काखमा राखी अग्निमा बस्दछ तर प्रल्हादको सच्चा भक्तिले गर्दा होलिका जलेर मृत्यु हुन्छ तर भक्त प्रल्हादलाई आगोले छुँदैन । यसैको खुसीयालीमा होली पर्व मनाउन थालिएको हो ।
प्रतिक्रिया