कांग्रेसका बानियाँलाई गृहराज्यमन्त्री र जबेगुलाई पशुपंक्षी मन्त्रालयमा नियुक्त

काठमाडौं, फागुन ३० ।
मन्त्रलय हेरफेरसँगै कांग्रेस सांसद् इन्द्र बानियाँले गृहराज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारीमा थिए । राजनीतिक शक्ति सन्तुलन मिलाउन पर्यटनमन्त्री जीवनबहादुर शाहीको खानेपानी तथा सरसफाइ मन्त्रालयमा सरुवा भएपछि पर्यटन राज्यमन्त्री इन्द्र बानियाँ जिम्मेवार बिहिन बन्दै आएका थिए ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी बानियाँलाई गृह मन्त्रालयमा नियुक्त गरेका हुन् । केही दिनका लागि आज नयाँ दिल्ली जाँदै गरेका निधिले गृहमन्त्रालयको नेतृत्व बानियाँलाई दिनेछन् ।
मकवानपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसबाट निर्वाचित सांसद् बानियाँ २०७० सालमा पहिलोपटक सांसद् निर्वाचित भएका हुन् । त्यस्तै विना विभागिय राज्यमन्त्री बनेका पूर्वस्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री दाहालले आज सम्म सम्हाल्दै आएको उक्त मन्त्रालयमा जबेगुलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।
स्थानीय विकास मन्त्रालय राप्रपा अध्यक्ष कमल थापाको भागमा परेपछि जबेगु विना विभागीय राज्यमन्त्रीका रूपमा रहेका थिए । प्रधानमन्त्री दाहालले आज जबेगुलाई पशुपंक्षी विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएका छन् ।
प्रतिक्रिया