ओलीको प्रश्न प्रमलाई, तपाईलाई थप मन्त्री कुस्ती खेल्न चाहिएको हो ?

काठमाडौं, असोज २९ ।
रुपान्तरित व्यवस्थापिका संसदको अन्तिम बैठकमा अरू नेताले समग्र संसदको अवधिका बारेमा समीक्षा गरे पनि विपक्षी दलका नेता केपी शर्मा ओलीले भने मन्त्री थप्ने प्रधानमन्त्री शेरबहादुर देउवाको कदमप्रति तीव्र आलोचना गरेका छन् ।
ओलीले सोधे, तपाईलाई थप मन्त्री किन चाहिएको? कुस्ती खेल्न त हैन होला?
मन्त्रीको संख्या धेरै भन्दा प्रधानमन्त्री तात्नुहोला भनेर व्यङ्ग्य गर्दै उनले ७० भन्दा ६ कम मन्त्री बनाउन लागेको बताए । निर्वाचन गराउन प्रधानमन्त्री, अर्थ मन्त्री जस्ता केही मन्त्री भए पुग्ने भन्दै काम नभएका मन्त्री बिना विभागीय मन्त्री बनाउन खोजेकोमा उनले आलोचना गरे ।
उनले यस्तो बेलामा खानैमात्र खोजेको भन्न पनि अप्ठेरो भएको बताउँदै के गर्न जाँदै हुनुहुन्छ मन्त्रीज्युहरु? नेपाली जनताले तिरेको कर पैसासँग यो खेलवाड ?’
भन्दै प्रश्न उठाएका छन् ।
प्रधानमन्त्री देउवाले युएन महासभामा भाग लिन जाँदा कोलम्बिया युनिभर्सिटीमा संविधानले १० प्रतिशत मन्त्री बनाउन अनुमति दिने कुरा उल्लेख गरेको कुरा कोट्याउँदै उनले सोधे, ‘यो प्रतिशतको हिसाब बुझाइदिने कोही छैन कांग्रेसमा सभापतिलाई ?’
निर्वाचन आयोगले दुई जना मन्त्री थपेको ठीक हैन भनेको बेला आठ जना थपेर जवाफ दिएकोमा आलोचना गर्दै उनले अर्को चुनाव शायद जितिन्छ, जितिन्न, मन्त्री बन्न पाइएला नपाइएला भनेर हो कि भनेर समेत सोधे।
उनले प्रधानमन्त्रीलाई सोधे, ‘लोकतन्त्र भनेको कानुन नमान्नु हो? आचार संहिता नमान्नु हो? जवाफदेही हुन नपर्ने हो?’
मन्त्री थप्न लागेको समाचार पहिले सुन्दा आफूले नपत्याएको उल्लेख गर्दै उनले राष्ट्रपतिलाई पनि यो आचार संहिताविपरीत भएको र आफूहरुको असहमति भएको प्रष्ट पारेको बताए।
उनले मन्त्री बनाउने सिफारिश फिर्ता लिन प्रधानमन्त्रीलाई आग्रह गरे, ‘फिर्ता लिनुस् यो असंवैधानिक छ, गलत छ । यतिबेला तपाईँलाई ५६ जना मन्त्रीले पुगेन ? मन्त्री कै जुलुस गर्नुहुन्छ देशभरी कि क्या हो ?’
सन्चारमाध्यममा सरकार अल्पमतमा पर्ने भो भन्ने भएर मन्त्री थपेको भन्ने देखेको कुरा उल्लेख गर्दै उनले भने, ‘भरे रातिबाट संसद सकिन्छ। कसले अविश्वास प्रस्ताव कहाँ पेश गर्छ तपाईका विरुद्ध? सम्भवत तपाई जे निसाना हो त्यतातिर हेरिरहनुभएको छैन। संसद सकिएपछि तपाईले केही गर्नहुन्छ अनुमान गर्न सकिन्छ।’
उनले भने, ‘सायद तपाईले माओवादी मन्त्रीलाई बिना विभागीय बनाउँदै हुनुहुन्छ। हुन त मेरो सरोकारको विषयय हैन, तर छक्काइ छक्काइ किन गर्नुहुन्छ यस्तो?’
उनले सरकारलाई सहयोग गर्ने बताए, ‘नेकपा एमालेको तर्फबाट भन्न चाहन्छु नेकपा एमाले सरकारलाई सरकारलाई साथ र सहयोग दिन्छ। अहिलेसम्म नेकपा एमाले संसदको दोस्रो पार्टी हो। तर भोलिदेखि एकलौटी प्रमुख पार्टी हो। संसद नभएपछि जे छ त्यसकै हिसाब हुन्छ। स्थानीय तहको एमाले प्रमुख पार्टी हो।’
एमाले लोकतन्त्रको निम्ति संघर्ष गरेर आएको र लोकतन्त्रका निम्ति लड्ने बताउँदै ओलीले नेकपा एमालेले लोकतान्त्रिक हो भनेर कसैसँग लाइसेन्स नपर्ने बताए ।
प्रतिक्रिया