मन्त्री निधिको भनाई : अन्तर्राष्ट्रिय समुदायका लागि सुरक्षा सबैभन्दा ठूलो चुनौती

काठमाडौं, चैत्र २ ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आतङ्कवाद विश्वव्यापी रूपमा गम्भीर चुनौतीका रूपमा देखिएको बताउँदै त्यस्ता गतिविधि नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जनाउनुपर्ने बताएका छन् ।
भारतको नयाँदिल्लीमा मंगलबारदेखि सुरु भएको प्रतिआतङ्कवादसम्बन्धी तेश्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनको अवसरमा उनले अन्तर्राष्ट्रिय समुदायका लागि सुरक्षा चासो सबैभन्दा चिन्ताको विषय भएको उल्लेख गर्दै उनले आतङ्कवादी समूहले आफ्नो प्रभाव विस्तार गर्न खोजेकाले त्यसको रोकथामका लागि सबै राष्ट्र मिलेर बलियो कानूनी संयन्त्र बनाउनुपर्नेमा जोडसमेत दिएका छन् ।
राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा संयन्त्र बलियो नबनाएसम्म आफ्ना नागरिकको सुरक्षा गर्न कठिन हुने निधिको भनाई थियो । एक दशकअघि इराक र केही वर्षअघि काबुलमा क्रुर तरिकाबाट मारिएका नेपालीको प्रसङ्ग उल्लेख गर्दै उनले त्यस्ता गतिविधिले कुनै पनि समाजको प्रगति र देशको विकास हुन नसक्ने बताए ।
गृहमन्त्री निधिले सबै किसिमका आतङ्कवादविरुद्ध नेपाल भएको बताउँदै प्रतिआतङ्कवाद रणनीति तयार गर्नुपर्नेमा जोड दिनुभएको उपप्रधानमन्त्री निधिका प्रेस संयोजक रामजी दाहालले जानकारी दिए ।
भारतका उपराष्ट्रपति हमिद अन्सारी प्रमुख अतिथि रहनुभएको कार्यक्रमका प्रमुख वक्तामा श्रीलङ्काका प्रधानमन्त्री रलिन विक्रमा सिङ्गे, नेपालका उपप्रधान तथा गृहमन्त्री निधि, भारतका रेल्वे मन्त्री सुरेश प्रभु र हरियाणाका मुख्यमन्त्री मनोहरलाल खत्तर हुनुहुन्छ । सम्मेलन आगामी बिहीबारसम्म चल्नेछ ।
प्रतिक्रिया