यमपञ्चकको तेश्रो दिन आज लक्ष्मी पूजा, धुमधामसँग मनाइँदै

प्रकाशित मिति: २ कार्तिक २०७४, बिहीबार ०६:५८


काठमाडौं, कार्तिक २ ।
यमपञ्चक अर्थात तिहारको तेश्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मी पूजा पर्व मनाइँदैछ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गर्ने गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भ¥याङ्गलगायतका स्थानमा सरसफाई गरी दीपावलीसमेत गर्ने गरिन्छ ।

लक्ष्मी पूजाको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजाकोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पिठो र अबिरले लक्ष्मीको पाईला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलिमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मी पूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास रहीआएको छ ।

लक्ष्मी पूजाको साँझ युवती समूह बनाई घर–घरमा भैलो खेल्छन् । भगवान विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्स्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घर–घरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिने गरिन्छ । भैलो खेल्न आउनेलाई दान दिए पूण्य प्राप्त हुने धार्मिक विश्वास रहीआएको छ ।

यसैगरी, नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०६ औँ जन्मजयन्ती बिहीबार स्वदेश र विदेशमा विभिन्नि साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ । १९९६ साल कात्तिक कृष्ण औंसीका दिन अर्थात लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा देवकोटाको जन्म भएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

त्रिभुवन विमानस्थलबाट किलोभन्दा बढी सुनसहित ५३ वर्षीया भारतीय पक्राउ

काठमाडाैं, असार ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....