यमपञ्चकको अन्तिम दिन आज भाईटीका गरी मनाइँदै, उत्तम साइत ११ः५१ बजे

काठमाडौं, कार्तिक ४ ।
यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवं अन्तिम दिन आज भाईटीका पर्व दिदीबहिनीले दाजुभाईलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।
दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाईबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिएका छन् । “भाईटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ५१ मिनेटको समय उत्तम छ, भाईटीकालगायत महत्वपूर्ण साइत अभिजित मुहूर्तमा दिइने भएकाले मध्यान्हको समय निकालिएको हो”, उनले भने ।
लक्ष्मी पूजाका दिन स्थापित दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्टदल लेखि त्यसमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी स्थापना गरिन्छ । थालीमै चित्रगुप्त, यमराज, यमुना, धर्मराज र गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले बताए ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाईले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गरिने धार्मिक एवं सामाजिक परम्परा छ । यस वर्ष टीका लगाउने दाजुभाई पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्कनुपर्ने उनले बताए । आज पश्चिममा चन्द्रमा भएकाले लगाईमाग्ने दाजुभाई पश्चिम फर्कँदा सम्मुख हुन्छ । टीका लगाइदिने भन्दा लगाइमाग्नेका लागि महत्वपूर्ण हुने भएकाले यसो गर्न अनुरोध गरिएको समितिले जनाएको छ ।
भाईटीका शनिबार परेकाले बिहान ८ बजेसम्म भने टीका नलगाउन अध्यक्ष गौतमले आव्हान गरे । शनिबार बिहान काल बेला पर्ने भएकाले ८ बजेपछि भने दिनभर टीका लगाउन बाधा नरहेको उनको भनाई छ ।
दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । वि.सं. २०७२ बैशाख १२ गतेको महाभूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्वीर राखेर पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गथ्र्याे । दिदीबहिनी नहुनेहरू भाईटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । दिदीबहिनी नहुनेहरूका लागि अञ्जली दिदीले पनि काष्ठमण्डपनिर टीका लगाई दिने छिन् ।
यसैगरी जयबागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाईले पूजा एवं दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा. गोविन्द टण्डनले जानकारी दिए । “वि.सं. २०३५ साल अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाई र दाजुभाई नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाईटीकाका दिन भक्तजनको भीड लाग्छ”, उनले भने ।
वि.सं. २०३५ सालपछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । गोरखा भूकम्पले बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाई नहुने भक्तजनको भीड लाग्न थालेको हो ।
प्रतिक्रिया