वाम गठबन्धनले कांग्रेसलाई असर नपर्ने नेता कोइरालाको दाबी

काठमाडौं, कार्तिक ७ ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वाम गठबन्धनले नेपाली कांग्रेसलाई केहीँ असर नपर्ने बताउँदै आगामी निर्वाचनमा जित्ने दाबी गरेका छन् । भारतको कोलकत्तामा बसेर उद्योग व्यावसाय गरेका सर्लाहीका दिनेश सिंहलाई पार्टीमा प्रवेश गराउँदै कोइरालाले एक भएर निर्वाचन लड्दा कांग्रेस आत्तिनु नपर्ने बताएका हुन् ।
‘वामपन्थीले तालमेल गरेर ध्रुवीकरण गरे । तर, यसबाट कांग्रेस आत्तिनुपर्ने अवस्था छैन ।’ कोइरालाले भने, ‘हामीले पनि केही दलसँग तालमेलको प्रयास गरेका छौँ । सहयोग पनि पाउँदै आएका छौँ । कांग्रेस एकजुट भएर निर्वाचन लड्दा हामी जित्छौँ ।’ वाम गठबन्धनबाट नआत्ति चुनावी प्रचारमा लाग्न पनि उनले नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
कोइरालाले आफ्नै निवास महाराजगञ्जमा सोमबार आयोजित कार्यक्रममा सिंहलाई कांग्रेसको साधारण सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् । कोइरालाले कांग्रेस सबैको रोजाईको पार्टी भएको पनि दाबी गरे । सिंहले भारतमा लामो समय व्यापार र सामाजिक काममा सक्रिय रहे पनि अब कांग्रेसमा आबद्ध भएर जनताका लागि काम गर्ने बताए ।
आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।
प्रतिक्रिया