आजदेखि बुटवलमा औद्योगिक मेला सुरु, प्रदर्शनीलाई रोचक बनाउन मम्मी डान्स आइडल

रुपन्देही, कार्तिक ८ ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलको आयोजनामा बुधबारदेखि बुटवलमा दोस्रो राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि व्यापार तथा पर्यटन प्रवद्र्धन मेला सुरु हुँदैछ ।
बुटवल मण्डपमा हुने मेलाको बिहान ११ बजेपछि पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने प्रचार संयोजक यमलाल मरासीनीले जानकारी दिए ।
‘राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ भन्ने नाराका साथ कात्तिक १८ गतेसम्म चल्ने मेलामा दैनिक उपभोग्य वस्तु, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, औद्योगिक मेशिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, अटोमोवाइल्स, सूचना प्रविधि लगायतका ३ सय ५० वटा स्टल सहभागी छन् ।
प्रदर्शनीलाई रोचक बनाउन आमाहरूको नृत्य प्रतियोगिता (मम्मी डान्स आइडल) पनि आयोजना गरिएको छ । प्रतियोगिताको प्रथम पुस्कार यमाहा कम्पनीको स्कुटर राखिएको छ भने दोस्रो पुरस्कार ५० हजार रुपैयाँ र तेस्रो हुनेलाई ३० हजार रुपैयाँ दिइनेछ । मेलामा खुल्ला गायन प्रतियोगिता र कुस्ती प्रतियोगिता समेत आयोजना गरिएको सांस्कृतिक संयोजक गोविन्द गैरेले जानकारी दिए ।
प्रतिक्रिया