पूर्वराजा ज्ञानेन्द्रलाई चुनावको मुखमा नानाथरी अभिव्यक्ति नदिन मन्त्री शाहीको सुझाव

काठमाडौं, कार्तिक ९ ।
विना विभागिय मन्त्री महेन्द्रबहादुर शाहीले नैतिकताका आधारमा सबै मन्त्रीहरूले राजिनामा दिनुपर्ने बताएका छन् । माओवादी केन्द्रबाट मन्त्रीहरूमाथि मात्रै नैतिकताको प्रश्न उठाइएकोमा आपत्ति जनाउँदै मन्त्री शाहीले प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरूमाथि नैतिकताको प्रश्न उठेको बताए ।
सरकारले मन्त्रीलाई दिने सुविधा माओवादीबाट मन्त्री बनेकालाई मात्र दिएको जस्तो गरी अनावश्यक प्रश्न नगर्न मन्त्री शाहीले आग्रह गरेका छन् । चुनाव हुने वा नहुनेमा जनताले अझै पनि शंका गरिरहेकाले आफुहरू सरकारमा बसिरहन बाध्य भएको मन्त्री शाहीले बताए ।
माओवादीको सासंदहरूले भोट हालेर प्रधानमन्त्री बनेका शेरबहादुर देउवामाथि नै नैतिकताको प्रश्न उठेको शाहीले बताए । शाहीले जनताको विरुद्धमा जानका लागि केही गम्भीर प्रकृतिका षडयन्त्र भइरहेको बताउँदै चुनावको सुनिश्चितता नहुँदासम्म माओवादी सरकारमा बस्ने शाहीले बताएका छन् ।
“पछिल्लो परिस्थितीले फेरी चुनाव नहुने हो कि भन्नेतिर गइरहेको छ । सरकार विस्तार गर्नु र राजाले देशको नेतृत्व गर्ने बेला आयो भनेर खुलेआम अभिव्यक्ति दिनु सामान्य परिघटना होइन ।” मन्त्री शाहीले भने ।
चुनावको मुखमा पूर्वराजा ज्ञानेन्द्रले दिएको अभिव्यक्तिले आफुहरू सशंकित बनेको शाहीको भनाई छ । जुन स्थान दिइएको छ त्यही स्थानमा बस्न मन्त्री शाहीले ज्ञानेन्द्रलाई सुझाब दिएका छन् ।
कात्तिक ५ गतेपछि राजिनामा दिने तयारी आफुहरुले गरे पनि पछिल्लो घटनाक्रमले चुनाव बिथोलिने सम्भावना देखेर राजिनामा नदिइएको शाहीले स्पष्ट पारेका छन् ।
प्रतिक्रिया