सूर्यको आराधना गरी आज छठ पर्व धुमधामका साथ मनाइँदै

काठमाडौं, कार्तिक ९ ।
आराध्यदेव सूर्यको आराधना गरी महापर्व छठ बिहीबार धुमधामका साथ मनाइँदैछ । केही वर्षअघिसम्म तराईका केही जिल्लामा मात्र सीमित यो पर्व अहिले राजधानीलगायत मुलुकको प्रमुख सहरमा पनि विस्तार भएको छ । अचेल यो पर्व पहाडी समुदायमा समेत त्यतिकै लोकप्रिय बन्दै गइरहेको छ ।
विभिन्न कामले राजधानी र अन्य सहरमा बसोबास गर्दै आएका तराईबासीहरू छठ पर्व मनाउन प्राय आ–आफ्नो गाउँ नै जान्थे तर यताका वर्षहरूमा भने आआफ्नै थातथलोमा पनि छठ जम्न थालेको छ । त्यस क्रममा राजधानीमै केही वर्षदेखि छठको रौनक देखिन थालेको छ ।
कात्तिक महिनाको प्रारम्भसँगै विशेष शुद्धाशुद्धिका साथ तयारी गरिने यस पर्वको विषयमा विभिन्न कथा र किंवदन्ती पाइए पनि स्पष्ट तथ्यको अभाव देखिएको छ । संस्कृतिविद् डा. रामदयाल राकेश सत्ययुगमा सरयाती नामका राजाका सुपुत्री सुकन्याले पहिलो पटक छठ पर्व गरेको बताए । महाभारतको प्रसङ्गलाई उल्लेख गर्दै उनले पाण्डवहरूको गुप्तवासको सफलताको कामना गर्दै द्रौपदीले छठ पर्व गरेको बताए । त्यस बेलादेखि नै छठ पर्वको जनस्तरमा सुरुआत भएको धेरैको विश्वास छ । त्यसैगरी, सूर्यपुराणमा अत्रिमुनिका अर्धाङ्गनी सति अनुसुयाले छठ पर्व गरेको उल्लेख पाइन्छ ।
साम्ब पुराणका अनुसार पिता श्रीकृष्णको श्रापबाट कुष्टरोगले पीडित श्रीकृष्णपुत्र साम्ब सूर्यपूजा आराधनाबाट रोगमुक्त भएको चर्चा छ । त्यस बेलादेखि नै छठ पर्वको प्राररम्भ भएको कतिपयको विश्वास छ ।
त्यस्तै, कुष्टरोगबाट नै पीडित कवि मयूर भट्टले सूर्यको उपासना र पूजाबाट पुनः सुन्दर र स्वस्थ्य शरीर प्राप्त गरेको कथासँग जोडिएर छठ पर्वको सुरुआत भएको संस्कृतिविद् डा. राकेशको भनाइ छ । वैज्ञानिक दृष्टिकोणले पनि छठ पर्वको विशेष महत्व रहेको डा. मुरारिप्रसाद श्रीवास्तवको भनाइ रहेको छ । । उनका अनुसार संसारको सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छ । सूर्यको किरणमा पाइने भिटामिन डी लगायतका तत्वहरूले सम्पूर्ण प्राणी जगत्लाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा जीवन प्रदान गरिरहेको हुन्छ । त्यसैले छठ पर्वमा गरिने सूर्यको आराधनाले छालासम्बन्धी रोग निको हुने जनविश्वास रहेको पाइन्छ ।
आजका दिनलाई यस पर्वको प्रमुख अंशका रूपमा मानिन्छ । षष्ठी अर्थात् यस दिनलाई ‘सँझिया घाट’ भनिन्छ । यो दिन बिहानैदेखि चामल र पीठोको ठेकुवा कसारलगायत परिकारहरू तेलघ्यूमा पकाइन्छ । तयार पारिएका परिकार, पाँच थरीका मिठाइ, ऊखु, अदुवा, नरिबल, मूला, सुथनी, सुपारी, ल्वाङ, सुकुमेललगायत प्रसादहरू बाँसको टोकरी, नाङ्लो र सिपुलीमा राखेर साथै शुद्ध जल र गाईको दूधसहित व्रतालुहरू परिवारका सदस्यहरूसहित नजिकको जलाशयमा जान्छन् र व्रतालुहरू अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । अध्र्य दिएपछि व्रतालुहरू घर फर्कन्छन् ।
कतिपय व्रतालुहरू घर नफर्किएर पूजास्थलमै रातभरि जाग्राम बस्छन् । त्यहाँ कसैकसैले भाकल गरेअनुसार विभिन्न देवीदेवताको माटोको मूर्ति बनाई विशेष पूजाआजा गरिन्छ, जसलाई ‘कोशिया’ भनिन्छ । भोलिपल्ट कात्तिक सप्तमीका दिन व्रतालुहरूले उदाउँदो सूर्यलाई शुक्रबार बिहान अध्र्य दिएपछि यो महापर्व यही सम्पन्न भएको मानिन्छ ।
प्रतिक्रिया