छठ पर्वको अवसरमा राष्ट्रपति भण्डारीद्वारा पूजा

काठमाडौं, कार्तिक ९ ।
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिइएको छ ।
यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीमा स्थापित छठी माताको मन्दिरमा पूजा गरी वाग्मती नदीमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् । उनले कमलपोखरीमा पनि स्थापित छठी मातालाई पूजा गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यस पर्व मंगलबारदेखि सुरु भएको हो । छठको मुख्य दिन आज बेलुकी वर्तालुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् । ‘महाभारत’मा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डवबाट अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट् राजाको दरबारमा आश्रय लिएको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणानुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यहीँ बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको विश्वास गरिन्छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यविना रुख, बिरुवा, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।
साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्ब सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त भएको उल्लेख छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य प्रसन्न भई वर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्काबाट व्रत गराउने गर्छन् । अर्थ अभाव भएका मानिसहरू भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।
छठ पर्वको व्रतविधि
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोश्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सख्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति वर्तालुले प्रसादस्वरुप खाने र नून नखाई एक छाक फलाहार गरिन्छ । यस पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआरधाना गरी अघ्र्य दिने विधिविधान रहेको स्थानीयवासी जीतेन्द्र झाले बताए ।
षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि पर्व समापन हुन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजाआराधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ । वि.सं २०४६ अघि तराईका सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरूप ग्रहण गरेको छ । सरकारले यस पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ । यस वर्ष भने छठको भोलिपल्ट उदाउँदो सूर्यलाई अघ्र्य दिइने दिन पनि सार्वजनिक बिदा दिइएको छ ।
छठ पर्वका लागि राजधानीका गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, वाग्मती, बल्खु, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । छठका वर्तालु कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइएपछि छठ पर्व सम्पन्न हुन्छ ।
प्रतिक्रिया