विना मगरका कारण भत्किँदै वाम गठबन्धन, मान्दै मानेन ओली

काठमाडौं, कार्तिक १० ।
वाम गठबन्धन एमाले र माओवादी केन्द्रबीच दोस्रो चरणमा निर्वाचन हुने अन्य जिल्लामा सिटबाडफाटका विषयमा करिव सहमति भएपनि कञ्चनपुरको क्षेत्र नम्बर १ मा भने अझै सहमति हुन सकेको छैन ।
कञ्चनपुर क्षेत्र नम्बर १ मा एमालेका जिल्ला अध्यक्ष तारा लामा तामाङ र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालकी पत्नी विना मगरको दाबी छ।
तर, विनाले आफू कुनै पनि हालतमा पछि नहट्ने बताएपछि वाम गठबन्धनभित्र मतभेद देखा परेको स्रोतले जनाएको छ। क्षेत्र नम्बर १ मा विनालाई टिकट दिन प्रचण्ड पनि तयार छन्। तर, उनी खुलेका भने छैनन्।
एमाले अध्यक्ष केपी शर्मा ओली पनि कञ्चनपुर १ मा एमालेले पाउनुपर्ने अडानमा छन्। समाचार स्रोतले भन्यो, ‘बझाङसहित अन्य जिल्लामा हाम्रा अध्यक्षले टिकट पाउनु भएको छैन। कञ्चनपुर त पाउनुपर्छ।’
स्थानीय तहको निर्वाचनमा कञ्चनपुरका ९ मध्ये ५ तहमा एमाले विजयी गराउन महत्वपूर्ण भूमिका खेलेका तारालाई टिकट दिन एमाले नेतृत्वलाई समेत दबाव परेको हो।
क्षेत्र नम्बर १ एमालेको पकड भएको क्षेत्र हो । दोस्रो संविधान सभा निर्वाचनमा साविकको क्षेत्र नम्बर २ मा कांग्रेसका एनपी सावद विजयी भएका थिए। तारा दोस्रो भएका थिए। एमाले र माओवादीका गठबन्धनका कारण आफू जित्ने दाबी गर्दै आएका तारा टिकटका लागि राजधानीमै छन्।
विना पनि संविधान सभा निर्वाचनमा साविककको १ नम्बर क्षेत्रबाट चुनाव लडेकी थिइन्। कांग्रेसका दिवानसिंह विष्ट विजयी हुँदा उनी तेस्रो स्थानमा पुगेकी थिइन्।
तीन क्षेत्र रहेको कञ्चनपुरमा एमाले माओवादीलाई क्षेत्र नम्बर २ दिन तयार छ। बाँकी १, र ३ मा एमाले दाबी छ। तर, माओवादीले क्षेत्र नम्बर १ र २ दाबी गरेको छ ।
प्रतिक्रिया