विवाहिताको कुमारीत्व

प्रकाशित मिति: ३ चैत्र २०७३, बिहीबार १२:२४


ओमशङ्कर श्रेष्ठ
काठमाडौंको एउटा सम्पन्न नेवार परिवारमा जन्मेथेँ म । आमाबुबाको एक्लो सन्तान । त्यसमाथी पनि छोरी भएकीले बाल्यकालमा आमाबुबालगायत म सबैका आँखाको नानी थिएँ । मेरो नाम जुराइएको थियो ‘षोडशी’ । नामअनुसारको मेरो रूप र हिस्सी, त्यसमाथी ज्ञानी र शान्त स्वभावकी भएकीले मेरा मातापिताले कहिँल्यै छोराको अभावको महशुस गर्नुभएन । सुशिक्षित भएकीले पनि उहाँहरूले लैङ्गिक विभेद्बारे त्यति सोच्नु नभएको हुनुपर्छ ।

पत्तै नपाई बित्ने भनेको सायद संसारमा समय नै होला । बाल्यकाल बित्यो, यौवन सुरु भयो । ग्य्राजुएशन सकियो । घर परिवार, विद्यालयको अनुशासित माहोल एवं त्यस्तै गुनिलो र सम्भ्रान्त साथीसँगी पाएकीले होला काठमाडौंको त्यत्रो आधुनिक संसारमा पनि मेरो बानीबेहोरा श्यामश्वेत हिन्दी फिल्मी जमानाको जस्तो सौम्य र संयमित हुनपुगेको थियो । बाआमालाई छाडेर अन्ततः एकदिन अर्काको घरमा आफ्नो बाँकी जीवन बिताउन जानुपर्छ भन्ने सोच मेरो दिमागमा कहिँल्यै आएको थिएन । उहाँहरू मेरो जीवनको ऊर्जा, उत्साह र साहस हुनुहुन्थ्यो । उहाँहरूबिनाको संसारको म कल्पना पनि गर्न सक्दिनथेँ । त्यो बेलुकाको एक घटनापछि मैले जीवनमै पहिलो चोटी आफूलाई नितान्त एक्लो महशुस गरेँ । रातभरी एक्लै रोइरहेँ । बुबाआमाले मेरो कपाल सुम्सुम्याउँदै भन्नुभएको थियो, “हेर, छोरीको जात भनेकै अर्काको घर बसाउने हो । तिम्रो पनि उमेर पुगिसक्यो । हामीले एकजना राम्रो केटा खोजेका छौँ । उनी ठूलो बैंकको म्यानेजर हुन् । तर, इच्छा त तिम्रो पनि हो । त्यसैलै आफैँले सोचेर जवाफ दिनु । ल, तस्वीर यहीँ हो । भोलि लमीलाई जवाफ दिनुपर्छ ।”

सुत्ने तरखरमा थिएँ । आमाबाले त्यति भनेर मेरो ड्रेसिङ्ग टेबुलमा अपरिचित केटाको तस्वीर छाडेर जानुभयो । मैले आफूलाई निकै असहाय ठानेँ । अञ्जान भीडमा आमाबुबाको हातबाट मेरो हात छुटे जस्तो लाग्यो । ओछ्यानमा ओल्टोकोल्टो फेर्दै, आँशुले तकिया भिजाउँदै रात छर्लङ्ग बित्यो । अन्ततः एक निर्णय लिएर बिहानीपख भुसुक्क निदाउन पुगेँ । सपनाभरी मैले मेरै विवाह भइरहेको देखेँ । तर, मैले आफ्नो दुलहाको अनुहार भने देखिनँ । म आफ्ना आमाबुबालाई यति मन पराउँथेँ की उहाँहरूको खुसीका लागि आफ्नो खुसी मात्र हैन आफैँलाई मेटाउन सक्थेँ । तस्वीर नहेरीकन मैले उहाँहरूलाई विवाहका लागि आफ्नो सहमति दिएँ ।

नेवार परम्पराअनुसार सुपारी र सगुन ल्याइयो । घर सिँगारियो । भव्य पार्टीको आयोजना भयो । आँगनमा जन्ती बाजा बज्यो । सबैले मेरो दुलहाको सुन्दर, सुगठिलो र अग्लो शरीर देखेर कानेखुसी गरेको, ‘आहा ! षोडशीको त भाग्य नै गजबको रहेछ’ मेरो कानमा पर्‍यो । माइती पक्षले मलाई बिदावारी गर्‍यो । आशिषको व्यक्तित्वको प्रशंसा सुनेर होला मेरो रुवाईमा अब सुरुमा जस्तो पीडा थिएन । आशिषको घरमा पुगेपछि मलाई अलि नौलो नौलो डर र न्याश्रो लाग्यो । करिब करिब मेरै उमेरकी आशिषकी फुपूकी छोरी बिन्दियाले मलाई एक्लोपनाको महशुस हुनै दिइनन् । सबैसँग त्यहाँ चिनापर्ची, ढोगभेट र सगुन र सुपारी लिने जस्ता काम भयो । बल्ल सगुन लिने क्रममा मैले पहिलोचोटी आशिषलाई घुम्टोबाट चियाएर हेरेँ । अहो ! साँच्चै कति राम्रो देखिनु भएको उहाँ । उहाँको रूप र व्यक्तित्व कुनै मोडल वा हिरोभन्दा रत्तिभर कम थिएन । बाहिर साँझ ढल्न लागिसकेको थियो । मेरो मनभित्र अलिअलि अनौठो मीठोे डर, खुसी, उत्सुकता र चञ्चलता मिश्रित काउकुती लाग्न थाल्यो । मैले फेरी लुकेर उहाँलाई हेरेँ । मेरो नाकमा पुरुष शरीरको गन्ध पस्यो । म अलिअलि लट्ठिएँ । सगुन दिने नातेदारहरूको अझै अलिकति लाम बाँकी थियो । लामो र चौडा कोठाको भीडबाट एक किशोरको अल्लारे आवाज गुञ्जियो, ‘ए ! भएन, आशिष दाई, अलिकति भाउजुसँग टाँस्सिनु पर्‍यो । उहाँको शरीर मतिर ढल्कियो वा ढल्किएन मलाई थाहा भएन तर, मैले जानी–नजानी आफ्नो शरीर उहाँतिर ढल्काउन पुगेँछु । कोठा हाँसोले गुञ्जियो । ल ल, बरु भाउजु नै नलजाउने र साहसिलो हुनुहुँदो रहेछ । यो आशिष दाई जहिँल्यै मुख बिगारेर लजाउने, छ्या ! कुनै युवतीले गुनासो पोखिन् । यो सुनेर म लाजले खुम्चिएँ । आफ्ना लुगाफाटो नै खुकुलो भए जस्तो लाग्यो । करिब ९ बजेको हुनुपर्छ । मलाई शयनकक्षमा पुर्‍याइयो । कोठाका भित्तामा अमला रङ्ग पोतिएको थियो । ठाउँ–ठाउँमा लाईटको व्यवस्था थियो । एट्याच बाथरुमको काठको खापामा राखिएका ढलौटका कलात्मक मूर्तिहरू मनमोहक थिए । बेडको दक्षिणतिर म्यूजिक सिस्टम थियो । उत्तरी भित्तामा ७२ इञ्चको एलईडी सोनी टेलिभिजन टाँगिएको थियो । मास्टरबेडको अत्याधुनिक लचकदार डसनामा बस्नासाथ हल्का उफ्रिँदा म झसङ्ग भएँ । पूर्वपट्टिको भुइँसम्म खुल्ने अग्ला झ्याल बाहिरको बरण्डामा रङ्गीचङ्गी फूलहरू फुलिरहेका थिए । त्यहीँबाट एक्कासी चमेलीको बास्ना भरिएको हावाको झोक्का आयो । कोठाको भुइँमा कुर्कुच्चा धस्सिने कलेजी रङ्गको दामी कार्पेट बिछ्याइएको थियो । पश्चिमी कुनामा रहेको सानो तर चिटिक्क परेको बारमा थरीथरीका रक्सीका बोतल सजाइएका थिए । कोठाभरी अत्यन्तै महँगो परफ्युमको बास्ना फैलिरहेको थियो । ढोका बाहिर पदचाप सुनियो । एक्कासी मेरो कोठा अवलोकन गर्ने काम पनि रोकियो । आशिष भित्र पस्नुभयो । म लजाई निहुरिबसेँ । मेरो मुटुको ढुकढुकी बढ्न थाल्यो । कुनै पनि बेला शरीरमा हुन सक्ने पुरुष स्पर्शको सम्भावनाको कारण म भित्रभित्रै रोमाञ्चित पनि थिएँ । तर, उहाँका पाइला अन्तै मोडिए । उहाँले म्यूजिक सिष्टम अन गर्नुभयो । कोठा मधुरो अंग्रेजी गीतको धुनमा नाच्न थाल्यो । मेरो कानमा अप्रत्याशित शब्दहरू झरे, ‘षोडशी, थाक्यौ होली, सुते पनि हुन्छ म अलिकति ड्रिङ्क लिन्छु ।’ ‘उहाँले ब्ल्यू लेबलको बोतल खोलेर ड्रिङ्क बनाउनुभयो । उहाँको रूप र व्यक्तित्वभन्दा आवाज पनि कम थिएन । एक पूर्ण पुरुषमा हुनुपर्ने गर्‍हुँगो र स्पष्ट आवाजका उहाँ धनी हुनुहुँदो रहेछ । मैले आफूलाई धन्य सम्झेँ । एक पेग रित्याएपछि उहाँले भन्नुभयो, “आई नेभर स्मोक । कहिलेकाहीँ एक दुई पेग लिन्छु । अँ, षोडशी, यू डन्ट वेट फर मी । तिमी सुते पनि हुन्छ ।” यस्तो सम्वाद त मैले कुनै पनि हिन्दी फिल्मको सुहागरातमा सुनेकी थिइनँ । म पर्खिरहेँ, उहाँ मेरो सामु आउनु होला की भनी । उहाँले तेश्रो पेग बनाउँदै गर्दा मेरो मुखबाट अनायास एक पत्नीको पतिप्रतिको माया र हक लाग्ने खालका शब्दहरू निस्किए, ‘पुग्यो, ड्रिङ्क धेरै भएन र ?’ उहाँले जवाफमा मलाई पुलुक्क मात्र हेर्नुभयो । उहाँको अनुहार भाव विहीन थियो । त्यहाँ कताकता केही पीडा र विवशता झल्किन्थ्यो । मेरो हस्तक्षेपले कतै उहाँलाई बिझाएको जस्तो लाग्यो । म चुपचाप प्रतिक्षामा बसिरहेँ । कुनबेला निदाउन पुगेछु यादै भएन । सपनाभरी मैले बाआमालाई मात्रै देखेँ । निन्द्रा खुल्दा ७ बज्नै लागेको थियो । उहाँ त नजिकको सोफामा पल्टिरहनुभएको रहेछ । फ्रेस भएर ड्रेस चेञ्ज गरी कोठा बाहिर पुगेँ । कसरडोरमा काम गर्ने केटो ब्रेकफास्ट ट्रली लिएर उभिरहेको थियो । सासु ससुरालाई उहाँहरूकै कोठामा गएर ढोगेँ । सासुले सोध्नुभयो, “राम्ररी निदायौ की निदाइनौँ ? नयाँ ठाउँमा निद्रा नलाग्न सक्छ, बिस्तारै बानी लाग्छ ।” आशिष उठे ? ‘अहँ, उठ्नुभएको छैन’ भन्दै म आफ्नो कोठातर्फ लागेँ । के विवाह भनेको यस्तै हो ? की फिल्ममा देखाइने विवाहको दृश्य र वास्तविक विवाह फरक हुँदो हो ? यस्तै कुराहरू दिमागमा खेलिरहे । बाथरुममा नुहाउँदै गर्दा भेन्टिलेशनबाट छिरेको घाम र हावाको झोक्काले पनि मेरा अङ्गप्रत्यङ्गमा स्पर्श गरिरहे जस्तो लाग्यो । यस्तो अनुभव र अनुभूति यसअघि कहिँल्यै भएको थिएन । किन हो कुन्नि म पहिले पहिलेभन्दा लामो समय एक सुरले नुहाइरहेँ । क्रमशः त्यसपछिका ६ रात पनि त्यसरी नै बिते । उहाँ पिउँदै गर्नुहुन्थ्यो । सुते हुन्छ भन्नुहुन्थ्यो । म मन र आँखाभरी कुनै चीज मीठो आशा बोकेर नियमित प्रतिक्षामा भुसुक्कै निदाउँथेँ र बिहान हुन्थ्यो । मिष्ठान्न परिकारले घेरिएर पनि भोकै र अगाडि पानी भएर पनि तिर्खाएर बस्नु परेका कारण मेरो मनमा विष्मात र छटपटी बढ्न थाल्यो । ७ औँ दिन माईत गएँ । म अझै कुमारीत्व बोकेकी विवाहित नारी थिएँ । विवाहपछि लोग्ने र स्वास्नीबीच हुने शाश्वत सांसारिक सम्बन्धबाट अनभिज्ञ थिएँ । म दिनभर यदि उहाँले लिन आए पनि केही दिन माईतमै बस्छु, आउँदिन है भन्ने मनस्थिति लिएर बसेकी थिएँ । तर, साँझ परेपछि उहाँले लिन आएहुन्थ्यो जस्तो लाग्न थाल्यो । छोरी मान्छेको यसैलाई भनिँदो हो सायद आफू जन्मेको, हुर्केको घर कति छिटो पराई जस्तो लाग्दो रहेछ । बाहिर उहाँको कारको हर्न बजेको सुनेँ । हत्तारिएर ढोका खोल्न दगुर्दा झण्डै लडेकी । मेरो ताल देखेर आमा हाँस्नुभयो । घर जाने क्रममा अनायास मैले बाटोभरी भेटिएका देवदेवीका मन्दिरतर्फ नमस्कार गर्दै गएँ । मेरो पहिले पहिले त्यस्तो नमस्कार गर्ने बानी थिएन । मलाई आफूले नमस्कार गरेर भगवान्सँग केही माग्दै गरेको भान भयो । हामी पुतली सडकको स्वीट डिनर रेष्टुरेन्टमा खाना खाएर घर पुग्यौँ । ज्यादै कर गरिएकाले मैले पनि अलिकति रेड वाइन पिएकी थिएँ । जसको कारण मबाट लाज, डर र सङ्कोच अलि पर भागेको थियो । ब्लाउजको हुक खोलिदिन इशारा गरेँ । उहाँले हुक खोलिदिनुभयो । मेरो नाङ्गो ढाडमा उहाँका औँलाले स्पर्श गर्दा शरीरभरी करेन्ट प्रवाह भए जस्तो लाग्यो । आफैँ फनक्क घुमेर उहाँको चौडा छातीमा टाँस्सिएँ । मेरा ओठ उहाँका ओठमा टाँस्सिए । समय नै रोकिए जस्तो लाग्यो । मेरो श्वासको गति बढ्यो । अब बाँकी काम उहाँबाटै हो भन्ने पर्खाइमा बसिरहेँ । तर एक्कासी उहाँले रुञ्चे स्वरमा भन्नुभयो, “नट मोर द्यान दिस षोडशी, यू क्यान गो टु बेड ।’

मलाई पनि झनक्क रिस उठ्यो । ह्वाट बेड, आर यू टकिङ्ग अबाउट ?, वी आर म्यारिड, के तपाईंलाई म मन पर्दैन ? अर्को प्रेमिका छ ? की एचआइभी छ ? मेरो होस् फर्कियो । मलाई अलि लाज लाग्यो । म त बौलाही जस्तो पो चिच्याउन पुगेकी रहिछु । आशिष थचक्क सोफामा बसेर आईमाई जस्तै सुँक्क सुँक्क गरी रुन थाल्नुभयो । एक्कासी उहाँले मेरो खुट्टा ढोगेर भन्नुभयो, “षोडशी, आई एम सरी ! मैले आफ्नो स्वार्थका लागि जीवनमा यत्रो ठूलो भुल गर्न नहुने । तिम्रो कुनै दोष छैन । सबै दोष मेरै हो । मैले उहाँको टाउको आफ्ना दुई हातमा अड्याउँदै सोधेँ, कस्तो भुल ? के दोष ?”

उहाँ एकछिन ट्वाल्ल पर्नुभयो । अनि भित्तातिर फर्केर भन्न थाल्नुभयो, “हाउ टु से, डियर ! वास्तवमा यो कुरा मेरा आमाबुबा र साथीभाई कसैलाई थाहा छैन । मैले आमाबुबाकै लागि यत्रो ठूलो गल्ती गरेँ ।” मैले भने, “मैले केही पनि बुझिनँ, स्पष्ट भन्नुहोस् ।” उहाँ उठेर बारमा जानुभयो । एकपेग बनाई एक घुट्को पिउनु भयो । म उहाँको मुखबाट कहिले शब्दहरू झर्लान् भनी मन थामेर बसिरहेँ । उहाँले भन्नुभयो, “आई एम इम्पटन्ट, याने शारीरिक रूपमा तिमीलाई खुसी दिन सक्ने पुरुषत्व ममा छैन ।”

मलाई छागाँबाट खसे जस्तो लाग्यो । नानाथरीका सोच र भावना क्षणभरमै मेरो दिमागमा भरिए । मरुँ जस्तो पनि लाग्यो, मारुँ जस्तो पनि । चिच्याउन, कराउन मन लाग्यो । तर, त्यस्तो कुनै प्रतिक्रिया दिन सकिनँ । मेरो त संसारै शून्य भइसकेथ्यो । लोग्ने छँदै विधवा भइसकेँ जस्तो लाग्यो ।

मेरो हालत देखेर उहाँ रुन थाल्नुभयो । एक अबोध बालकले झैँ सफाई पेश गर्नुभयो “आमाबुबाको खुसीका लागि मैले विवाहका लागि नाइँ भन्न सकिनँ । म अब आफ्नो गल्तीका लागि जस्तोसुकै सम्झौता पनि गर्न तयार छु । तिमी आफ्नो यौन अधिकारका लागि पूर्ण स्वतन्त्र छ्यौ । म दिउँसो, बिहान जुनसुकै बेला आँखा चिम्लिदिन्छु । तिमीले जहाँ कतै पायक पर्ने यौन साथी खोज्न सक्छ्यौ । मलाई चटक्क भुल्न सक्छ्यौ । तर, एकचोटी हार्टस्ट्रोक भइसकेकी आमाको खास तर दाम्पत्य जीवनको नाटक गरीदिनु, बिन्ती !”

ममा अझै आशा बाँकी थियो । त्यसैले भनेँ, “कुनै त्यस्तो उपचार वा चिकित्सा पद्दति चमत्कार हुन सक्दैनन् ?” आशिषले हात जोड्दै भन्नुभयो, “उपचारका लागि यहाँ मात्र हैन विदेशका कुन अस्पतालमा पुगिनँ म । बरु तिमीले हामीबीच हुने यस गोप्य सम्झौताबारे भोलि जवाफ दिनु ।” उहाँ भोलिपल्ट विद्यालयमा रिजल्ट लिन आउने कुनै विद्यार्थीझैँ चाँडै अफिसबाट फर्किनु भयो । उहाँले लुकीलुकी मेरो अनुहारको भाव पढिरहनुभएको थियो । मैले पनि ठोस निर्णय गरिसकेथेँ । बेलुका कोठामा उहाँले सोध्नुभयो, “के निर्णय भयो ?”

मैले पुलुक्क उहाँलाई हेरेर भने, “मलाई माया गर्नु हुन्छ ?”

आशिष – “अवश्य गर्छु ।”

षोडशी – “म मरेँ भने के गर्नु हुन्छ ?”

आशिष – “त्यो क्षण सोच्न पनि सक्दिनँ ।”

षोडशी – “अनि किन तपाईं यो शरीर अरूलाई सुम्पन लगाएर मलाई जिउँदै मार्ने सम्झौता गर्नु हुन्छ ?”

आशिष – “यो आदर्शको कुरा हो, वास्तविकता र व्यावहार भनेको अर्कै हुन्छ ।”

षोडशी – “के तपाईंको यस सम्झौताका लागि तपाईं आफैँ जिम्मेवार हुनुहुन्छ ?” “दुर्घटनामा परेर आधा शरीर पक्षघात हुनेहरू छैनन् ? उमेर ढल्दै गएपछि विभिन्न रोगका कारण तपाईंको जस्तै समस्या भोग्ने लाखौँ मानिस यो संसारमा छैनन् ?”

आशिष – “छन् ।”

षोडशी – “त्यसो भए तिनीहरूका पत्नी पनि यस्तै सम्झौतामा बाँचिरहेका हुन्छन् त ?” “तपाईंले एक नारी सामु यति धेरै हार स्वीकार्नुभयो । के त्यो तपाईको महान्ता हैन ? तपाईंको नारीप्रतिको सम्मान र यस सम्झौताको प्रस्ताव देखेर मभित्र तपाईंप्रतिको माया र सम्मान अझैँ चुलिएको छ ।”

आशिष – “अनि, के भो त निर्णय ?”

षोडशी – “म तपाईंसँगै बाँच्ने तर, तपाईंको सम्झौता नमान्नेँ ? शारीरिक यौन सुखभन्दा आत्मीय माया र श्रद्धा धेरै ठूलो हुन्छ ।”

आशिषले मलाई मायाले अँगालो हाल्नुभयो । हामीले केही वर्षपछि एउटी अनाथ बच्चीलाई धर्मपुत्री बनायौँ । हामी खुसी छौँ, अन्य दम्पतीभन्दा सन्तुष्ट पनि छौँ । हामीमा कुनै कुण्ठा पनि छैन ।


प्रतिक्रिया

ताजा खबर

More

गरिमा विकास बैंकद्वारा नयाँ वर्षमा ग्राहकलाई दराजबाट सामान खरिदमा १५% सम्म छुट

काठमाडौं, चैत २२ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको विकास.....