वाम एकता राजनीतिक स्थिरता र समृद्धिका लागि : अध्यक्ष दाहाल

पोखरा, कार्तिक १० ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा राजनीतिक स्थिरता र समृद्धिका लागि वाम एकता गरिएको बताएका छन् ।
लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १३ औँ वार्षिक साधारणसभा एवं चौथो अधिवेशनको आज उद्घाटन गर्दै उनले राजनीतिक अस्थिरताले देशले विकासको गति लिन नसकेकाले राजनीतिक स्थिरता र लोकतन्त्रलाई मजबूत बनाउनु आवश्यक भएकामा जोड दिए ।
उनले दलहरू एकापसमा शत्रुता र निषेधात्मक नबनी विकास र समृद्धिका लागि सबै एक जुट बन्नुपर्ने बताए । अध्यक्ष दाहालले समृद्धिका लागि सात वटै प्रदेशमा विकासका भिन्न भिन्न नमूनासहित अघि बढ्न सकिने बताए ।
सो अवसरमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले कुनै पनि हालतमा प्रदेश र संघको निर्वाचन नरोकिने बताउँदै देशले संघीय लोकतान्त्रिक गणतन्त्रको भावनानुसारको ‘नयाँ मुलुकी ऐन’ पाएको जानकारी दिए ।
नेकपा (एमाले)का नेता खगराज अधिकारीले उपभोक्ता संस्थाले आफूलाई नमुना संस्थाका रूपमा स्थापित गरेको बताए । संस्थाका अध्यक्ष बोधराज लामिछानेले लेखनाथ क्षेत्रमा १० हजारभन्दा बढी खानेपानीका धारा वितरण गरिएको र आगामी दिनमा अझै यसलाई व्यवस्थित गर्दै लाने सोच राखिएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, एमालेका जिल्ला अध्यक्ष कृष्ण थापा, माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजकाजी गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीलगायतले खानेपानी योजनाको दीर्घकालीन विकास हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया