कम्युनिष्टहरू गठबन्धन लोकतन्त्रविरुद्ध भएको प्रधानमन्त्री देउवाको दाबी

काठमाडौं, कार्तिक १० ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको गठबन्धन लोकतन्त्र र कांग्रेसका विरुद्ध भएको बताएका छन् ।
नेपाल तरुण दलको ६४ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमाथि आइपरेको चुनौतीको सामना गर्न सम्पूर्ण तरुण एकताबद्ध भई कांग्रेसलाई विजयी गराउन लाग्नुपर्नेमा जोड दिए ।
लोकतन्त्रमा विश्वास गर्ने एक मात्र पार्टी कांग्रेस भएको बताउँदै प्रधानमन्त्री देउवाले भने, लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेस बलियो हुनैपर्छ । उनले पार्टीलाई विजयी गराउन आजैदेखि वडास्तर पुगेर काम गर्न तरुण युवालाई निर्देशन दिए ।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पक्षमा निर्वाचन परिणाम ल्याउनका लागि युवालाई खट्न निर्देशन दिए । कम्युनिष्ट पार्टीको गठबन्धनले लोकतन्त्रमाथि चुनौती थपिएको छ भन्दै नेता पौडेलले अधिनायकवादी शासन स्थापना गर्नेविरुद्ध सम्पूर्ण तरुण एक भएर सामना गर्नुपर्नेमा जोड दिए ।
पार्टीका महामन्त्री डा.शशांक कोइरालाले कांग्रेसविरुद्धको गठबन्धनबाट झस्किनुपर्ने आवश्यकता नभएको बताए । कार्यक्रममा कांग्रेस नेता एवं तरुण दलका पूर्वअध्यक्ष बालकृष्ण खाँड, तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र कोषाध्यक्ष विद्वान् गुरुङले कांग्रेसविरुद्ध देखिएको चुनौतीलाई अवसरका रूपमा लिई निर्वाचनमा पार्टीलाई बहुमतले विजयी गराउन सबै एकजुट भएर लाग्नुपर्ने जोड दिए ।
वि.सं २०१० कार्तिक १० गते कांग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको समन्वय र निर्देशनमा स्थापित तरुण दलका संस्थापक अध्यक्षमा सिंहध्वज खड्का रहेका थिए ।त्यसपछि २०१७ साल पुस १ गते तत्कालीन प्रधानमन्त्री बिपीले तरुण दलको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरिरहेका बेला तत्कालीन राजा महेन्द्रले सेनाको बलमा सबैलाई थुनेर ‘कु’ गरेका थिए ।
राजाले दलमाथि प्रतिबन्ध लगाएका अवस्थामा तरुण दल पनि विघटन हुन पुगेको थियो । वि.सं २०५४ मा नेपालगञ्जमा भएको कांग्रेसको महासमिति भेलामा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले खाँडको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गरेको थियो । त्यसयता तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव र उदयशम्शेर राणा अध्यक्ष भइसकेका छन् ।
प्रतिक्रिया