राप्रपाद्वारा निर्वाचन आयोगको कदमलाई सिधैँ अस्वीकार, ७ गते आयोगमा धर्ना

काठमाडौं, चैत्र ५ ।
व्यवस्थापिका संसद्को चौथो ठूलो दलको रूपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको विधानबाट ‘हिन्दू राष्ट्र’ र ‘राजसंस्था’ हटाउने निर्वाचन आयोगको कदमलाई सिधैँ अस्वीकार गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राजधानीमा उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यहरूको आकस्मिक बैठकले आयोगको कदमले निर्वाचनको वातावरण धमिल्याएको भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको हो । साथै बैठकले चैत्र ७ गते निर्वाचन आयोगको कार्यालयमा धर्ना दिने निर्णय पनि गरेको सह–प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिएका छन् ।
बैठकमा महामन्त्री धवलशमशेर राणालगायतले तत्काल सरकारबाट बाहिरिएर आन्दोलनमा जानुपर्ने बताएका थिए । जवाफमा अध्यक्ष कमल थापाले केही दिन परिस्थिति हेरेर आवश्यक निर्णय लिने बताएका छन् ।
हिन्दू राष्ट्रका लागि संविधान संशोधन बैठकले संविधानमै हिन्दू राष्ट्र उल्लेख गराउन संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय पनि गरेको छ । भोलि आइतबार नै प्रस्ताव दर्ता गराउने जिम्मा सांसद् कुन्तीकुमारी शाहीलाई दिइएको छ ।
निर्वाचन आयोगले राप्रपाको विधानमा उल्लेख ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र एवं राजसंस्थासहितको लोकतन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांशबाट राजसंस्था र हिन्दू राष्ट्र शब्दावली हटाएपछि पार्टीको आकस्मिक बैठक बसेको थियो ।
प्रतिक्रिया