नेमकिपा अध्यक्ष विजुक्छेको भनाई, कांग्रेस र मधेशी दलबीच सरकार निर्माणको तयारी

भक्तपुर, चैत्र ६ ।
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेस र मधेशी दलहरूबीच सत्ता समीकरण हुन सक्ने प्रबल सम्भावना रहेको बताएका छन् ।
रफत सञ्चार क्लबद्वारा आज आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले अबको सत्ता समीकरणमा एमाले र एमाओवादी एकातर्फ हुने भन्दै कांग्रेस र मधेशी दलहरूबीच सत्ताको समीकरण देखा पर्ने बताए ।
स्थानीय तहको निर्वाचनमा वैदशिक हस्तक्षेप नभए नेपालीको चाहना अनुरूप तोकिएको मितिमा हुने भन्दै उनले निर्वाचन बहिष्कार गर्ने अधिकार सबैमा भए तापनि सम्भव भएका स्थानमा निर्वाचन गरिनु पर्ने र बाँकी रहेको स्थानमा पछि निर्वाचन गर्न सकिने बताए ।
निर्वाचन आयोगले आचार संहिता जारी गरे तापनि ठूला दलहरूले त्यसको पालना नगरेको भन्दै आचार संहिता लागू गर्नेतर्फ निर्वाचन आयोगको ध्यान जानुपर्नेमा जोडसमेत दिए । सरकारमा सामेल दलदेखि प्रतिपक्षले विभिन्न बहानामा आचार संहिता उल्लंघन गर्दासमेत निर्वाचन आयोगले केही गर्न नसकेको टिप्पणी गरे ।
निर्वाचनको मुखमा जसरी स्थानीय निकायमा निर्वाचन अधिकृत खटाउने तयारी भएको छ, यसमा ठूलो मात्रामा आर्थिक चलखेल भएको भन्दै बिदेशी वा सत्तामा सामेल दलहरूले नै आफूले लाभ लिन आर्थिक चलखेल गरेको आरोपसमेत लगाएका छन् ।
प्रतिक्रिया