प्रधानमन्त्री दाहालको चीन भ्रमणमा ‘वान बेल्ट वान रोड’ सम्झौतामा हस्ताक्षर हुने अपेक्षा

काठमाडौं, चैत्र ७ ।
नेपाल र चीनबीचको सम्बन्ध अहिले राम्रो हुँदै गईरहेको बेला प्रधानमन्त्री दाहाल यही चैत्र १० गते बिहीबार चीन भ्रमणमा जाँदै छन् । यो भ्रमणको मुख्य उद्देश्य भनेको दुई देशबीचको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने रहेको बताइएको छ ।
नेपाल र चीनबीच विगतमा भएको व्यापार तथाा पारवहन सन्धिको कार्यान्वयन, हालै काठमाडौंमा सम्पन्न लगानी सम्मेलनमा चीनबाट आएको झण्डै नौ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता, पश्चिमसेती जलविद्युत आयोजना, रेल्वे मार्ग, पेट्रोलियम उत्खनन, भण्डारण लगायतका यसअघिको सहमति र सम्झौतालाई अघि बढाउन सकेको खण्डमा प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धि मुलक हुने विश्लेषकहरूको भनाई छ ।
सबैभन्दा पहिले त राजनीति रूपमा चिसिँदै गईरहेको सम्बन्धलाई न्यानो बनाउनुपर्ने आवश्यकता रहेको छ । त्यसैले आइतबार आयोजना गरेको एक कार्यक्रममा परराष्ट्र मामिलाका जानकारहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणलाई सम्बन्ध थप प्रगाढ बनाउन केन्द्रित हुनुपर्नेमा सुझाव दिएका हुन् ।
उक्त कार्यक्रममा चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यले भ्रमणलाई विगतमा चीनसँग नेपालले गरेको सन्धि सम्झौता कार्यान्वयनमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।
पछिल्ला दशकमा चीनको अन्तर्राष्ट्रियस्तरमा बढ्दो शक्ति र उपस्थितिले चीनसँगको कूटनीतिक आयाम परिवर्तन भएको बताउँदै उनले नेपालले पनि सोहीअनुसार नै बुझ्नुपर्नेमा जोड दिए ।
सन् १९९६ पछि कुनै पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन नसकेको प्रसङ्ग उल्लेख गर्दै पूर्वराजदूत आचार्यले त्यसका लागि नेपालमा उपयुक्त वातावरण बनाउनुपर्ने कुरामा जोड दिएका छन् । कार्यक्रममा रुसका लागि नेपालका पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्री दाहालको चीन भ्रमण वर्तमान सरकार गठनका बेला भएको आलोचना सच्याउने अवसरका रूपमा हुने जिकिर गरेका छन् ।
भ्रमणका दौरानमा ‘वान बेल्ट वान रोड’ सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गर्दै उनले उक्त सम्झौताले नेपालमा चीनबाट रेल र तेल (पेट्रोलियम पदार्थ) ल्याउन सहज हुने बताएका छन् । दुई देशको कूटनीतिक वार्तामार्फत उत्तरी नाकाको विकास र विस्तार गरी नेपालको उत्तरी क्षेत्रमा कायम रहेको आर्थिक विपन्नता हटाउनुपर्ने उनको धारणा रहेको थियो । विगतको सरकारले चीनसँग गरेका पारवहन र यातायात सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार अग्रसर हुनुपर्ने बताए ।
प्रतिक्रिया