प्रधानमन्त्री दाहालद्वारा बहुराष्ट्रिय शान्ति प्रयास–३ अन्तर्गत २८ मुलुकका सेनालाई सम्बोधन (फोटोफिचर)

काभ्रे, चैत्र ७ ।
नेपाली सेनाद्वारा आज काभ्रेको पाँचखालमा आयोजित बहुराष्ट्रिय शान्ति प्रयास–३ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति स्थापना कार्यमा नेपाली सेनाले बहुर्राष्ट्रिय सेनासँग समदूरीमा रही काम गरेको स्मरण गरेका छन् ।
प्रधानमन्त्री दाहालले उक्त कुरा नेपाल, इण्डोनेशिया, किर्गिज्स्तान, मलेसिया, फिलिपिन्स, बङ्गलादेश, अमेरिकालगायत देशबाट विभिन्न प्रकृतिका शान्ति स्थापनासम्बन्धी तालिममा सहभागी २८ मुलुकका बहुराष्ट्रिय सेनालाई आज पाँचखालमा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
उनले शान्ति स्थापना कार्यमा नेपाली सेनाले लेबनान, युगाण्डा, इथियोपिया दक्षिण सुडान, इराक, सिरियालगायत ४१ मुलुकमा बहुर्राष्ट्रिय सेनासँग मिलेर काम गरेको इतिहास रहेको बताए । नेपाली सेना सन् १९५५ मा नेपाल संयुक्त राष्ट्र सङ्घको सदस्य भएपछि शान्ति स्थापना कार्यमा सक्रिय रहँदै आएको छ ।
उनले नेपालको शान्ति स्थापनामा संयुक्त राष्ट्र सङ्घले पुर्याएको योगदानको प्रशंसा गर्दै संयुक्त राष्ट्र सङ्घ विश्वका सबै मुलुकको अभिभावक संस्था रहेको बताए । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनामा नेपाली सेनाले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यसपछि भविष्यमा आइपर्ने विभिन्न प्रकृतिका समस्या समाधानमा संयुक्त राष्ट्र सङ्घको आव्हानलाई स्वीकार्दै अगाडि बढ्ने बताए ।
वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा आयोजना गरिएको १५ दिने शान्ति अभ्यास (तेश्रो) चरणको तालिममा भाग लिन २८ देशका एक हजार २४ सैनिकको सहभागिता रहेको छ । तालिम यही चैत्त २१ गतेसम्म सञ्चालन हुनेछ ।
द्वन्द्वग्रस्त मुलुकमा खटिने सैनिकबीच सहकार्यलाई एकतामा सूत्रबद्ध गरी शीप विकासमा सहयोग र आपसी दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा यो तालिम पहिलो पटक आयोजना गरिएको हो । यसअघि नेपाली सेनाले पहिलो पटक सन् २००० मा शान्ति अभ्यास सुरु गरेको थियो । त्यसबेला चार वटा मुलुकका सेनाले यहाँ भाग लिएका थिए । पाँचखालमा सेनाको बहुर्राष्ट्रिय तालिम केन्द्र रहेको छ ।
कार्यक्रममा संयुक्त राज्य अमेरिकाका एशिया प्रशान्त क्षेत्र सैन्य कमाण्डर एडमिरल ह्यारीले शान्ति स्थापना कार्यमा नेपाली सेना र अमेरिकी सेनाले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए ।
नेपाली सेना विश्व शान्ति स्थापनार्थ सेना खटाउने मुलुकको सूचीमा छैटौँ स्थानमा छ । त्यसैगरी, नेपालका लागि अमेरिकी राजदूत अलाइना बि टेप्लिजले तालिम नेपाल र अमेरिकाको आपसी सहयोगमा सञ्चालन भएको जानकारी दिए ।
प्रतिक्रिया