चुनाव कसैले चाहेर रोकिँदैन : खनाल

काठमाडौं, चैत्र ८ ।
प्रधानमन्त्री पुष्पकमल दाहालका राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचन हुनेमा आशंका नर्गन आग्रह गरेका छन् । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) म्याग्दीको तेश्रो जिल्ला सम्मेलनको सोमबार बेनीमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
आगामी बैशाख ३१ गते सरकारले स्थानीय तह निर्वाचन गराएरै छाड्ने उद्घोष गर्दै उनले निर्वाचनपछि जनताको घरदैलोमा सरकारी सेवा सुविधा पुग्ने धारणा व्यक्त गरे । ‘संघीयतामार्फत जिल्ला सदरमुकाममा केन्द्रित सेवा सुविधा अब गाउँपालिका र नगरपालिकामार्फत जनताको पहुँचमा पुग्दैछ, अब सेवा सुविधा मात्रै होइन आफ्नो गाउँ ठाउँको बजेट कसरी निर्माण गर्ने र विकास कसरी गर्ने भन्ने कुरा जनताकै हातमा हुन्छ ।’ उनले भने ।
उनले माओवादीको जनयुद्ध र जनआन्दोलनको जगबाट मुलुकमा संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीजस्ता मुद्दा स्थापित भएको बताउँदै ती मुद्दालाई संस्थागत गर्न स्थानीय तहको चुनाव अपरिहार्य रहेकोमा जोड दिँदै उनले भने मधेशमा देखिएको समस्यालाई सरकारले राजनीतिक रूपमै हल गर्ने प्रयास गरेको बताउँदै चुनाव कसैले चाहेर नरोकिने बताए ।
उनले प्रम दाहालले हिमाल, पहाड र तराईलाई जोड्ने गरी ठूलो परिवर्तनपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्न लागिपरेको धारणा राखे । तत्कालीन माओवादी जनमुक्ति सेनाका डेपुटी कमाण्डरसमेत रहेका खनालले जनताको अधिकार स्थापित गर्न माओवादीले जनयुद्ध गरेको स्मरण गर्दै नयाँ संविधानको कार्यान्वयन हुन सकेमा मात्रै माओवादी आन्दोलन र जनयुद्धको लक्ष्य पूरा हुने बताए ।
प्रतिक्रिया