मुख्य विपक्षी दल एमालेद्वारा मधेशी मोर्चालाई ग्रीन सिग्नल

प्रकाशित मिति: ८ चैत्र २०७३, मंगलवार १३:३०


काठमाडौं, चैत्र ८ ।
प्रमुख विपक्षी दल नेकपा (एमाले)ले मधेशी मोर्चा चुनावमा आउने निश्चित भएको खण्डमा सीमांकन बाहेकका मुद्दामा संविधान संशोधन हुनदिने गरी लचिलो भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको पहल सार्थक हुने सम्भावना बढ्दै गएको छ ।

बिहीबार उत्तरी छिमेकी चीनको भ्रमणमा निस्कनु पूर्व प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सहभागिता सुनिश्चित गर्नका लागि संसद्मा विचाराधीन संविधान संशोधनलाई निष्कर्षमा पुर्‍याउने कसरत तीब्र बनाएका छन् । मुख्य सत्ता सहयोगी नेपाली कांग्रेस र प्रधानमन्त्री दाहालले आ–आफ्नो तहबाट संशोधनको निर्णयका लागि बहुमत जुटाउने प्रयासलाई निकै गति दिइरहेका छन् ।

यसै क्रममा प्रधानमन्त्री दाहालले संसद्को मुख्य ठूलो विपक्षी तथा संशोधन प्रस्तावको मुख्य अवरोधक दल नेकपा (एमाले)सँग पनि सीमांकन बाहेकका मुद्दामा संविधान संशोधनमा सहयोग जुटाउने कोशिस जारी राखेका छन् । प्रधानमन्त्रीसँगको पटक–पटकको अनौपचारिक विमर्शपछि प्रमुख प्रतिपक्षी एमाले प्रदेश सीमांकन बाहेकको संविधान संशोधन प्रस्ताव आए प्रक्रियामा सामेल हुने मनस्थितिमा पुगेको प्रधानमन्त्रीका सहयोगीहरूले बताएका छन् । तर, त्यसका लागि भने मधेशी मोर्चाले आफू चुनावमा सहभागी हुने प्रतिबद्धता जनाउनु पर्ने एमालेले पूर्व प्रतिबद्धता मोर्चाबाट खोजेको छ ।

प्रधानमन्त्रीसँगका वार्ताहरूमा प्रदेशको सीमांकन हेरफेरको प्रस्ताव भने संविधानविपरीत भएको भन्दै एमालेले त्यसलाई भने स्वीकार नगर्ने अडान राखेको छ । सोमबार भएको शीर्ष चार दलको बैठकमा पनि प्रधानमन्त्री दाहालले सीमांकन बाहेकका विषयमा सहमति जनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विशेष आग्रह गरेका थिए । मोर्चाले चुनावमा भाग लिने ग्यारेन्टी नै एमालेले प्रक्रियामा सघाउने शर्त भएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले बताएका छन् । मुख्य विपक्षी एमालेको स्थायी समिति बैठकले पनि सरकारले मधेशी मोर्चा निर्वाचनमा आउने ग्यारेण्टी गर्नुपर्ने र संसदीय प्रक्रियाअनुसार पास फेल जे भए पनि मान्नु पर्ने शर्तमा सीमांकन बाहेकका प्रस्ताव निर्णयार्थ अघि बढाउन पार्टी लचिलो हुनुपर्ने निष्कर्ष निकालेको थियो ।

मोर्चाले चुनावमा भाग लिने प्रतिबद्धता जनाए संशोधन प्रस्तावको प्रक्रियामा आफूहरूले प्रमुख प्रतिपक्षी दलको हैसियतमा धर्म निर्वाह गर्ने कुरा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग राखेका छन् । एमाले अध्यक्ष ओलीले पहिले मधेशी मोर्चालाई चुनावमा भाग लिन मनाउन प्रधानमन्त्रीलाई आग्रह गर्दै मोर्चाले परिणाम स्वीकार गरेर स्थानीय चुनावमा भाग लिनै पर्ने अडान भने दोहोर्‍याएका थिए ।

यता संसद्मा प्रतिनिधित्व गर्ने साना दलहरूको समर्थन जुटाउन पनि प्रधानमन्त्रीले आजै साँझ बालुवाटारमा साना दलका सांसद् र पार्टी नेताहरूसँग विशेष बैठक गर्दैछन् । मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै स्थानीय चुनाव नै बहिष्कार गर्ने चेतावनीका माझ साना दलको समेत संशोधन प्रस्तावमा समर्थन जुटाउन प्रधानमन्त्रीले बैठक आव्हान गरेका हुन् । राप्रपालाई सरकारमा सामेल गराएर तथा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकलाई पनि सरकारमा लाने तयारी गरेर संशोधनको पक्षमा बहुमत पुर्‍याउने प्रधानमन्त्री र सत्तारुढ दलहरूको प्रयास जारी रहेको छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले औपचारिक रूपमा स्थानीय चुनावमा भाग लिने भनिसकेको छैन तर, सीमांकनलाई शक्तिशाली आयोगमार्फत टुङ्गो लगाउने ग्यारेण्टी सरकारले गरेमा सीमांकन बाहेकका मुद्दामा हुने संविधान संशोधनलाई स्वीकार गर्ने अनौपचारिक सहमति मुख्य सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालसँग गरिसकेको दाबी गरिएको छ । कांग्रेस केन्द्रीय समितिको बिहीबार १० गते सुरु हुने केन्द्रीय समिति बैठकले संविधान संशोधन विधयेकलाई वारपार गर्ने गरी मोर्चाका नेताहरूसँग अनौपचारिक वार्ता र सम्वाद निरन्तर तीब्र बनाउँदै आएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....