गगन थापा काठमाडौंबाट मेयरमा उठ्ने, कुन पार्टीबाट को–को उठ्दै ?

प्रकाशित मिति: ८ चैत्र २०७३, मंगलवार १७:२६


काठमाडौं, चैत्र ८ ।
शीर्ष दलहरू अहिले आउँदो बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचन गर्न सहमत भएसँगै मुलुक चुनावको बाटोमा अघि बढेको छ । मधेशी मोर्चासमेत सीमांकन थाती राखेर स्थानीय तहको संख्या बढाए निर्वाचनमा जान सकिने भन्दै लचक भएपछि मुलुके अब चुनावमय हुने विश्लेषकहरूले विश्लेषण गर्न थालिसकेका छन् ।

यही बीचमा मुलुकका चार वटा महानगरपालिकाको मेयरमा कुन पार्टीबाट कस्ता उम्मेदवार बन्दैछन् भन्ने चर्चा परिचर्चाले पनि विशेष स्थान लिईसकेको छ । विशेषगरी काठमाडौं महानगरपालिकामा सबैको ध्यान केन्द्रित हुन थालेको छ ।

मुलुकको राजधानीसमेत भएकाले काठमाडौंको मेयरको चर्चा धेरै हुने स्वाभाविक पनि हो । विगतमा पीएल सिंह र केशव स्थापित पनि मेयर भएकै कारण चर्चामा धेरै आएका हुन् । कुनै मन्त्रालयभन्दा धेरै बजेट चलाउन पाइने, कार्यकर्ताहरूलाई धेरै रोजगारी र काम दिन सकिने, जनतासँग धेरै घुलमिल हुने भएकाले पनि काठमाडौंको मेयरमा कुन पार्टीबाट को उठ्दै छ भन्ने कुराले चर्चा परिचर्चा पाउन थालेको हो ।

खासगरी काठमाडौंको मेयरमा कांग्रेस, एमाले र माओवादी केन्द्रले कुन नेतालाई उठाउँदैछन् भन्ने चर्चा र अनुमान गर्न थालिएको छ । एमालेले योगेश भट्टराई, कृष्णगोपाल श्रेष्ठ र जीवनराम श्रेष्ठको नाम चर्चामा ल्याएको छ भने माओवादी केन्द्रले अहिलेसम्म कसैको नाम चर्चामा ल्याएको छैन । तर, अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्मालाई माओवादीले उम्मेदवार बनाउने चर्चा चलेको छ ।

अहिले सबैको ध्यान कांग्रेसबाट मेयर बन्ने उम्मेदवारको विषयमा गएको छ । कांग्रेसले युवा नेता गगनकुमार थापालाई काठमाडौंको मेयर बनाउने चर्चा सुरु भएको छ । यसका लागि थापाले छिट्टै स्वास्थ्यमन्त्रीको जिम्मेवारीबाट राजीनामा दिने कांग्रेस उच्च श्रोतले जानकारी दियो ।

स्वास्थ्यमन्त्री भएपछि स्वास्थ्य सुधारका क्षेत्रमा महत्वपूर्ण निर्णय र कार्यक्रम घोषणा गर्दै आइरहेका थापालाई काठमाडौंको मेयर बनाउने र कांग्रेसको चुनावी कमाण्डरको जिम्मेवारी दिने कुरामा पार्टी सभापति शेरबहादुर देउवा पनि सकारात्मक भइसकेको बुझिएको छ ।

केही दिनअघि स्वास्थ्यमन्त्री थापा आफैँले मन्त्री पदबाट राजीनामा दिएर देशव्यापी रूपमा कांग्रेसको पक्षमा चुनावी माहौल ल्याउन सभापति देउवासमक्ष प्रस्ताव गरेको बताइएको छ । स्थानीय तहको चुनाव गराउने हो भने तत्काल विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकलाई सरकारमा सामेल गराउनुपर्ने भएकाले पनि कांग्रेसबाट मन्त्री भएकाहरूले मन्त्री पद छाड्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।

केही दिनअघि कांग्रेसका मन्त्रीहरूलाई आफ्नै निवासमा बोलाएर सभापति देउवाले संविधान कार्यान्वयन गर्न र चुनावको माहौल बनाउन जुनसुकै मूल्य चुकाउन तयार रहन निर्देशन दिएका थिए । कांग्रेसले बालकृष्ण खाँण, गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायतका नेतालाई चुनावी कमाण्डर तोक्ने गृहकार्य सुरु गरेको श्रोतले बतायो ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....