लोकतन्त्रमा लोकले राज गराउनका लागि जन्मिएको हो विवेकशील : रमेश महर्जन (भिडियाेसहित)

प्रकाशित मिति: १२ मंसिर २०७४, मंगलवार १५:०८


विवेकशील साझा पार्टी
प्रतिनिधि सभा उम्मेदवार (समानुपातिक)

आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विवेकशील साझा पार्टीबाट ललितपुर क्षेत्र नं. २ प्रतिनिधि सभाकाे तर्फबाट समानुपातिक उम्मेदवार बनेका रमेश महर्जनसँग लाइभ अफ नेपालले गरेको विशेष कुराकानीकाे सम्पादित अंश र भिडियो ।

चुनावी माहौल कत्तिको तयारी भइरहेको छ, के–कस्ता प्रतिबद्धता लिएर जनता बीच गइरहनु भएको छ ?
चुनावी तयारी एकदमै तीब्र रूपमा भइरहेको छ । घरदैलो कार्यक्रममा लागिपरेका छौं । विभिन्न समुदाय, संघसंस्थाहरूमा अन्तरक्रियाहरू गर्दै अघि बढिरहेका छौं । उहाँहरूको समस्या के हो अवस्था बारे बुझ्ने प्रयत्न गरिरहेका छौं ।

जनताहरूबाट कस्ता समस्याहरू अगाडि आइरहेका छन् ?
जनताहरू निकै नै चिन्तित छन् । चुनाव नजिक आउँदा हात जोड्ने चुनाव पछि भाग्ने प्रवृत्ति हाबी भएको देखेर जनता निराश भएका छन् । तर, हाम्रो सोच मन पराउनु भएको छ । ए यो पार्टी त नयाँ सोच लिएर हाम्रै लागि आएको भन्दै साथसमेत दिन थालेका छन् ।

तपाईं विवेकशील मै किन आउनु भयो, फेरी तपाईं त समाजसेवामा आबद्ध व्यक्तित्व हुनुहुन्छ, राजनीतिमा नै आउनुको मुख्य कारण ?
राजनीतिज्ञहरूले राम्रो काम गरेको भए हामी आउनु नै पर्ने थिएन । मलाई मात्र राम्रो भएर भएन जनता सबैले समान अवसर पाउनु पर्छ भन्ने मेरो ध्येय हो । सबैले आफ्नो जीवनमा सुख भोगुन् भन्ने नै हाम्रो मुख्य आशय हो । समाजसेवामा रहेकाले नै मलाई जनताका दुःख, पीर मर्का नजिकसँग नियालेको छु । त्यही भएर उहाँहरूको दुःख निवारणका लागि नै म राजनीतिमा आएको हुँ । फेरी हाम्रो देशमा सत्ता शक्ति आधारभूत तत्व भइरहेको छ । केही गर्छु भनेर लागि परेकालाई पनि सत्ता नै चाहिने रहेछ । लोकतन्त्रमा लोकले राज गर्नुपर्छ भन्ने मान्यताले नै जनताका प्रतिनिधि भएर अगाडि आएका छौं ।

फरक ढङ्गबाट अगाडि आउँदा जनता कतिको उत्साही भएको पाउनुभयो ?
फरक ढङ्ग र नयाँ सोच जनताप्रति हाम्रो उत्तरदायित्व, झुकावले गर्दा हाम्रो पार्टीप्रति निकै नै उत्साही भएको पाएको छु । धेरै वर्षदेखि निराशामा जीवन बिताइरहेका आम नेपाली जनतामा हामीले अब केही फरकपन ल्याउँछ भन्ने आशा पनि उब्जाएको छ । त्यही भएर निकै उत्साही भएको पाएको छु । विवेकशील पार्टीको मुख्य फोकस भनेकै हरेक चीज सिस्टमले हुनुपर्‍यो । सही सिस्टम र जनतालाई मात्र होइन सबैमा यो लागू हुनुपर्‍यो । समाजले नेता होइन नेताले समाज बनाउनु पर्‍यो । समृद्ध समाज, विकास भएको समाज हुनुपर्‍यो ।

विवेकशील प्रतिस्पर्धाको रूपमा सांसद्मा गए पनि सानो दल हुने भयो । सानो दलले अघि सार्ने योजना प्रभावकारी कत्तिसम्म होला त ?
निःस्वार्थ भावनाले अघि बढ्दा केही हस्तक्षेप त आउँलान् । तर, जनताको साथ त हामीसँगै छ नि । ढिलो चाँडो जस्तो भए पनि राम्रो काम गर्नेलाई जनताले पनि साथ दिन्छ । आम नागरिकको समस्या सम्बोधन नगर्नेलाई जनताको समर्थन कहाँ हुन्छ ? राष्ट्रिय आवाज समाजलाई समृद्धिको बाटो लाने योजना अगाडि लैजाँदा हामीलाई जनताले नै साथ दिने हो । हाम्रो आवाज जनताको साथले नै मजबुत हुने हो ।

विवेकशील पार्टीको अबका योजनाहरू के–कस्ता छन् ?
हाम्रो मुख्य उद्देश्य भनेकै आर्थिक वुद्धि र वित्तीय व्यवस्थापन हो । राजनीतिक, नीतिगत र प्रशासनिक तहको भ्रष्टाचारलाई निर्मूल पार्नका निमित्त जोड दिने नै हो । भौतिक योजना र पूर्वाधार विकास नै हो । समृद्धि हाम्रै पालामा सम्भव छ भन्ने मूल नाराका साथ आएका छौं । अर्को कृषिमा जोड दिन्छौं, पर्यटन र अन्य उद्योग साथै युवा रोजगारीमा विशेष रूपमा जोड दिने हाम्रो योजना रहेको छ ।

अन्त्यमा, आफ्ना क्षेत्रका मतदाताहरूलाई के भन्न चाहनुहुन्छ ?
वैकल्पिक राजनीतिक शक्तिको यही राष्ट्रिय आवश्यकतालाई आत्मसात गर्दै विवेकशील साझा पार्टीको जन्म भएको हो । हामी राम्रो समाज निर्माणका लागि आएका छौं । यो पटक साथ दिएर हामीलाई सुदृढ समाज निर्माणमा जनताहरूले साथ दिनुहुन्छ भन्नेमा म आशावादी छु । राजनीतिमा शुद्धता र इमान्दारिता बिना राष्ट्रले सम्वृद्धि हासिल गर्न सक्दैन । जनता नै निर्णायक शक्ति हुन् । तपाईंको एक मतले राष्ट्रलाई सम्वृद्धिको दिशामा अग्रसर गराउन सकिन्छ । त्यसैले अबको आशा विवेकशील साझा ।


प्रतिक्रिया

ताजा खबर

More

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडाैं, जेठ ८ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहियालाई पक्राउ गर्न.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....