मेची–महाकाली अभियानपछि एमाले पहिलो पार्टी : नेता खनाल

इलाम, चैत्र ९ ।
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको मेची–महाकाली अभियानले स्थानीय तहको निर्वाचनमा एमाले देशकै पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरेका छन् ।
इलामको इरौँटारमा एमाले गाउँ कमिटीले मंगलबार आयोजना गरेको ‘कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याउने योद्धा तथा वृद्धवृद्धालाई सम्मान’ कार्यक्रममा उनले भने, “देशको आर्थिक विकास र लोकतन्त्रको खम्बा एमाले भएकाले अगामी निर्वाचनपछि मुलुकले आर्थिक क्षेत्रमा ठूलो फड्को मार्ने छ ।”
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका वरिष्ठ नेता खनालले “सरकारले केही मुठ्ठीभरका व्यक्तिलाई खुसी पार्न स्थानीय तहको निर्वाचन घोषणा गरेकाले तोकिएकै मितिमा हुनेमा आशङ्का छ”, भन्दै “मुलुक निर्वाचनतर्फ अघि बढिसकेकाले जनदबाब सृजना गरेर भए पनि एमालेले स्थानीय तहको निर्वाचन गराएरै छाड्ने बताए ।”
स्थानीय, प्रदेश र सङ्घीय तीन वटै तहको निर्वाचन सम्पन्न भएमा मात्र संविधान पूर्ण कार्यान्वयन हुने बताउँदै उनले नेपालको संविधान विश्वकै उत्कृष्ट भए पनि केही व्यक्ति र समूहले यसलाई कार्यान्वयनमा आउन नदिन खोजेको आरोपसमेत लगाए ।
वरिष्ठ नेता खनालले संसद्मा पेश भएको संविधान संशोधन विधेयक एमालेले कुनै पनि हालतमा पास हुन नदिने बताएका छन् ।
प्रतिक्रिया