प्रम दाहाल आज चीन प्रस्थान गर्दै, यस्तो छ कार्यतालिका

काठमाडौं, चैत्र १० ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज चीन प्रस्थान गर्ने भएका छन् । प्रम दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल एशियाका लागि पोआओ मञ्चको वार्षिक सम्मेलनमा सहभागिता जनाउन राति चीनको पोआओतर्फ प्रस्थान गर्न लागेको हो ।
विगतका दिनमा झैँ यसपटक भने भ्रमणका क्रममा कुनै सम्झौता भने नहुने भएको छ । यद्यपि, चीनियाँ राष्ट्रपति सी सिनफिङसँग राजधानी बेइजिङमा शनिबार छोटो समयका लागि भेटघाट गर्ने वातावरण मिलाइएको छ । चीनियाँ राष्ट्रपतिसँगको भेटघाटपछि उनले १२ गते शनिबार नै पोआओ सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा कुनै सम्झौता नहुने स्पष्ट पारेका हुन् । भ्रमणका क्रममा चीनियाँ प्रधानमन्त्री र विदेशमन्त्री चीनमा नरहने भएकाले नेपालकातर्फबाट सबै तयारी गरिए पनि कुनै औपचारिक सम्झौता नहुने उनले बताए ।
नेपालकोतर्फबाट कनेक्टीभिटी, रेल–वे, सडक निर्माण, ट्रान्समिसन लाइन, पारबहन र वान बेल्ट वान रोडलगायतका विषयमा सम्झौताका लागि सबै तयारी पूरा भएको उनको दाबी थियो । चीनियाँ राष्ट्रपतिसँग यिनै विषयमा छलफल हुने मन्त्री डा. महतले बताए ।
यसैबीच, प्रधानमन्त्री दाहालको भ्रमणमा प्रधानमन्त्री पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा. महत, परराष्ट्र सचिव शंकरदास बैरागीलगायत सहभागी हुने भएका छन् ।
चैत्र १३ गते प्रधानमन्त्री दाहालले बेइजिङ फरेन स्टडिज् युनिभर्सिटीले आयोजना गर्ने नेपाल–चीन सम्बन्ध र समृद्धिका अवसर विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
सोही दिन चीनियाँ व्यापारी समुदायसँग छलफल गर्ने एवं विश्वविद्यालय परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गरिने कार्यक्रमसमेत रहेको छ ।
प्रतिक्रिया