उपप्रधानमन्त्रीहरू महरा, निधि र थापा परे जिल्ल, चीनबाट चल्ने भयो नेपाल सरकार

काठमाडौं, चैत्र १० ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज बेलुका ११ बजे ६ दिने चीन भ्रमणमा निस्किने भएका छन् । उक्त छ दिनसम्म पनि प्रधानमन्त्री दाहाल आफैँले चीनबाटै सरकार चलाउने भएका छन् ।
प्राय जसो प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा उपप्रधानमन्त्रीलाई जिम्मेवारी सुम्पेर जाने गरेका छन् भने तर यसपटक कसैलाई जिम्मेवारी नसुम्पिकनै प्रम दाहाल चीन प्रस्थान गर्न लागेका हुन् । उप्रधानमन्त्रीद्वय कमल थापा र विमलेन्द्र निधिबीच कार्यबाहक प्रधानमन्त्रीलाई लिएर विवाद चर्किएपछि प्रम दाहालले कसैलाई पनि कार्यबाहक नदिई चीन जाने भएका हुन् । थापा र निधिबीच विवाद बढेपछि प्रम दाहालले चीन भ्रमणको अनुमोदन आफैँ गरेका थिए । प्रम दाहाल नेतृत्वको सरकारमा तीन उपप्रधानमन्त्री छन् ।
कमल थापाले सरकारमा सहभागी हुने बेलामा प्रधानमन्त्रीसँग आफू उपप्रधानमन्त्रीको पहिलो बरियातामा रहने सहमति भएको बताएका छन् । दोश्रोमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा र तेश्रो बरियाताको क्रममा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र रहेका छन् । थापा र महरा यसअघि पनि उपप्रधानमन्त्री भइसकेकाले बरियतामा उनीहरू अघि रहेका हुन् ।
तर निधिले आफूले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउनु पर्ने अडान राखेपछि विवाद चुलिएको हो । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले “लाईभ अफ नेपाल डट कम”सँग कुरा गर्दै प्रधानमन्त्री भ्रमणमा जाँदा जिम्मेवारी दिएर जानै पर्छ भन्ने कुनै बाध्यता भने नरहेको जानकारी दिएका छन् ।
चीन भ्रमणको बारेमा छलफल गर्न बुधबार बोलाइएको मन्त्रिपरिषद्को बैठक कार्यबाहक प्रधानमन्त्रीको विषयमा विवाद चुलिएपछि अन्तिम समयमा आएर स्थगित भएको थियो ।
तीन/तीन जना उपप्रधानमन्त्रीहरू हुँदासमेत प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो जिम्मेवारी सुम्पेर नगएपछि तीनै जना जिल्ल परेका छन् जसले गर्दा दाजुभाई फुटे गवार लुटे भनेजस्तै भएको छ भने उता चीन भ्रमणमा रहँदासमेत प्रम दाहालले सरकार सञ्चालन गर्ने भएका छन् ।
प्रतिक्रिया