प्यूठान दुर्घटना : मृत्यु हुनेहरू सबैको सनाखत (नामावलीसहित)

काठमाडौं, चैत्र ११ ।
काठमाडौंबाट प्यूठानको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी दर्शनका लागि गएको बा. ८ च १५६१ नम्बरको जीप आज बिहान स्वर्गद्वारी नगरपालिका–४ मा दुर्घटना हुँदा त्यसमा सवारमध्ये छ जनाको ज्यान गएको थियो भने तीन जना घाइते भएका थिए ।
मृत्युहुनेहरू सबैको सनाखतसमेत भइसकेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरूमा ललितपुर–१४ का दिनेशध्वज बस्नेत, पद्या बस्नेत, दिक्षा बस्नेत र डिहा बस्नेत रहेका छन् । उनीहरू सबै एउटै परिवारका रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, ललितपुर–१४ कै श्रृष्टी बराल र सुनिता श्रेष्ठको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा चालक सरोज घले, सुशीला बराल र अम्बिका गजुरेल रहेका छन् । घाइते भएकाहरूलाई भिगृ प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल अस्पताल पठाइएको छ ।
दुर्घटनामा परी ज्यान गएकाहरूको शव हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया