अपूर्ण नारी

ओमशंकर श्रेष्ठ
बी.ए. पास भएपछि त्रि.वि.वि.बाट समाजशास्त्रमा डिग्री गर्न म २०५४ सालमा धरानबाट काठमाडौं पसेँ । घरमा आमाबाबु र आई.ए. पढ्दै गरेको भाइलाई छाडेर । ३/४ रोपनी जग्गाको खेतीपाती र गाइभैँसी पालनबाट हाम्रो घर खर्च जेनतेनले चलिरहेथ्यो । डिग्री सकेर सरकारी सेवा वा एन.जी.ओ.मा जागिर खाई परिवारलाई गरिबीमुक्त बनाउने मेरो सपना थियो । त्यसैले बिहेवारी भई लोग्नेको घर सम्हाल्ने उमेरमा म उच्च शिक्षाका लागि काठमाडौं आइपुगेँ ।
नेपालको राजधानी काठमाडौं धरानको मेरो सानो गाउँजस्तै सोझा, इमान्दार र सस्तो थिएन । महँगी, फट्याई, प्रदूषण, मतलबी र अत्यन्तै प्रतिस्पर्धी रहेछ, यो ठाउँ । कुलेश्वरमा एउटा सानो घाम नछिर्ने कोठा भाडामा लिएँ । हप्तामा एकचोटी आउने दुई बाल्टिन पानी लिन पनि रातको निन्द्रा बिगार्नुपर्ने । कोठा भाडा तीन हजार, चामल घरबाटै आउने, नुन, तेल, मसला, चिया, चिनी, दूध र साबुनका लागि तीन हजार जतिमा टाईट बजेट बनाएथेँ । घरबाट ल्याएको १० हजार रुपैयाँ दुइै महिनामै चट् । दुःखी आमाबाबुलाई थप दुःख दिने मनसाय भएन । कक्षा छाडेर हातमुख जोड्न सानो जागिर खाने विचार गरेँ । तर, जागिर खोज्न त चिनजानका मान्छे चाहिने । म असहज, छट्पटी र तनावमा दुब्लाउँदै गइरहेकी थिएँ । घर छेउको राम साहुले पनि कतिञ्जेल सहन्थे र उधारो व्यापार । बिहान दूध लिन जाँदा प्वाक्क भनिहाले उनले ‘बहिनी, बिहान–बिहानै, बोहनी नै भएको छैन, पहिलेकै जम्माजम्मी हिसाब १,१७५/– पुगिसक्यो ।’ मलाई झनक्क रिस उठ्यो ५० मिटर पर गई किन्ने हो भने सबै सामानमा दुई चार रुपैयाँ सस्तै भए पनि म सम्पूर्ण चिज उसकहाँ किन्थेँ तर, पनि उसले मलाई विश्वास गरेन । पसलमा तेश्रो अपरिचित व्यक्तिको अगाडि यसरी बेइज्जत हुनु परेकामा रिस र लाजले मेरा गालाबाट रगतै चुहिएलान् जस्ता राता भइसकेका थिए । बोली र शब्दसमेत अनियन्त्रित भयो । हड्बडाउँदै मैले भने, ‘राम दाई ! दुई चार महिनामा सबै एकैचोटी तिरिहाल्छु नि धन्दा नमान्नुहोस् ।’ दुई चार दिन भन्नुपर्नेमा दुई चार महिना हुन पुगेछन् । राम दाई फट्फताउन थाल्नु भो, ‘दुई चार महिना, मेरो पनि त सामान लिने साहुहरूलाई पैसा दिनुपर्ने, तिनीहरूले पनि दुई चार महिना पर्खिदिए त हुन्थ्यो नि !’ मैले कुरा सच्याउनै लागेथेँ । अचानक त्यहाँ उपस्थित अपरिचित तेश्रो व्यक्तिको स्वर मेरो कानमा ठोक्कियो ।
– ए बहिनी हेर्दा विद्यार्थीजस्तो देखिनु हुन्छ ?
– हजुर !
– कहाँ पढ्दै हुनुहुन्छ ?
– टी.यु. मा डिग्री गर्दै ।
– घर कता पर्यो ?
– धरान ।
– यता एक्लै की परिवारसँग ?
– एक्लै ।
– त्यसो भए साह्रै गाह्रो होला हगि ?
मैले जवाफमा ती व्यक्तिलाई पुलुक्क मात्र हेरेँ । अन्दाजी ५३ उमेरका, औसत उचाईका, हातमा महँगो घडी, तीन औँलामा विभिन्न रत्नजडित सुनका औँठी, नाडीमा हात्तीको पुच्छरबाट बनाइएको सुनको बाला लगाएका थिए उनले । उनको अनुहारमा हल्का मुस्कान, सहयोगी र सहानुभूतिपूर्ण भावमिश्रित मुस्कान चम्किरहेथ्यो । निलो रङ्गको जिनको दामी सर्ट र क्रिम कलरको पोलिष्टर पाईन्टमा एडिडास स्पोट्र्स सुजको कम्बिनेसन भने कता कता नमिलेजस्तो लाग्यो । मैले अनुमान गरेजस्तो उनी रैथाने नभईकन बनेपातिरको नेवार रहेछन् । पर्सबाट एउटा भिजिटिङ कार्ड निकालेर मलाई दिँदै उनले कुनै सहयोगको आवश्यकता परे सम्पर्क गर्नु भने । कार्डमा यस्तो लेखिएको थियो । एञ्जेल्स बोर्डिङ स्कूल, नैकाप, फाउण्डर प्रिन्सिपल–रामकृष्ण बजिमय (एम.ए./एम.एड.) त्यसको मुनि विद्यालय र आफ्नो फोन नम्बरहरू थिए । आज मलाई रामसाहुको पसलबाट १० मिटर परको आफ्नो डेरासम्म पुग्दा मन निकै हलुङ्गो भइरहेको थियो । चिया पाकिनसक्दा मैले उनलाई फोन गरेँ, हलो ! को बोल्नुभयो ? मैले उनलाई आफ्नो फोन नम्बर त दिनै बिर्सेथेँ । भर्खर पसलमा …’ भन्नेबित्तिकै उनले, ‘अँ, अँ भन्नुहोस्, के सेवा गरौँ’ भन्नुभयो ।
– सर, तपाईंकै स्कूलमा पढाउने वा त्यस्तै कुनै सानोतिनो काम पाए हुन्थ्यो ।
– केको सानोतिनो नि ! बी.ए. पासले त ठाँटले मिस भई पढाउने नि ! अँ, आफ्नो सार्टिफिकेट र नागरिकताको फोटोकपि र केही फोटो लिएर आजै आउनुस् । केही फम्र्यालिटी त पूरा गर्नै पर्यो ।
– मैले खुसीको आबेगमा ‘हस, सर !’ मात्र भन्न सकेँ । थ्यान्क्यू समेत भन्न बिर्सेछु । छिटो छिटो खाना खाइवरी ट्रङ्कबाट मेरो गोरो र अग्लो शरीरलाई सबैभन्दा म्याच हुने कालो कुर्ता निकालेर लगाएँ । हुन त बाहिर जान लगाउने मसँग त्यो कालो र अर्को हरियोबाहेक अर्को कुर्ता थिएन ।
मेरो व्यक्तित्वलाई निखार्ने सबैभन्दा राम्रो भनेकै मेरा आँखा थिए । तिनलाई अझै मिहिनताका साथ गाजलले सिँगारेँ । काठमाडौं पसे यता पहिलो चोटी यति धेरैपटक मैले आफूलाई ऐनामा नियालेकी हुनुपर्छ । मभित्र एउटा नजानिँदो साहस र आत्मविश्वास पलाईसकेको थियो । गल्लीबाट निस्किँदा मैले राम साहुसँग धक् नमानी आँखा जुधाउन पुगेँ । उनी अनौठो र आश्चर्य मान्दै मलाई हेर्दै थिए । माइक्रोबस चढेर म नैकापतिर लागेँ । करिब डेढ रोपनीमा फैलिएको रहेछ, त्यो स्कूल । मूल सडकबाट २० मिनेट जतिभित्र थियो, त्यो तीनतले स्कूल । पहेँलो सर्ट र सेतो पाईन्ट र पहेँलो सर्ट र सेतो फ्रक लगाएर छात्रछात्राहरू स्कूल अगाडिको चौरमा खेलिरहेका थिए । प्रार्थना सभा हुन लागेको रहेछ । मलाई आधा घण्टाजति प्रतीक्षालयमा कुराइयो । करिब २० उमेरकी एक सुन्दर युवतीले मलाई प्रिन्सिपलको कोठामा पुर्याइन् । उनको हाउभाउ र कोठाबाट उनी नगएको देखेर उनी सेक्रेटरी हुनुपर्ने अन्दाज लगाएँ । आकाशे रङ्गको कटनको सर्ट, निलो ब्लेजर कोट र कालो जिन्सको पाईन्ट र कानै चश्मा लगाएका उनी बिहान देखिएभन्दा अलि धेरै व्यक्तित्वशाली देखिन्थे । सायद, त्यो उनको घुम्ने कुर्सीको कमाल पनि हुन सक्छ । हाम्रा देशका नेताहरूको अनुहार पनि मन्त्री, प्रधानमन्त्रीको कुर्सीमा हुँदा र नहुँदा धेरै फरक पाउन सकिन्छ । उनले अगाडिको सोफामा बस्ने सङ्केत गरे । मेरा सर्टिफिकेटहरू हेरे, अनि जिम्मेवारीपूर्ण गम्भीर स्वरमा मलाई भने, ‘पाँच कक्षासम्म पढाउनु सक्नुहुन्छ ? मेरो मतलब अङ्ग्रेजी माध्यम भएकाले ?
– सक्छु होला, सर, ट्राई गर्छु ।
– महिनाको अहिलेलाई पाँच हजार मात्र । काम राम्रो भए पछि बढाउँदै लगुँला ।
म उनको प्रस्ताव सुनेर ट्वाँ परिरहेँ । सेक्रेटरीको अनुहारमा एक कुटिल मुस्कान र रहश्यमय, अर्थपूर्ण भाव देखेँ । राम सरले कालो चस्मा फुकाल्नु भएन । आँखा पाक्दा, मात्तिएका आँखा, पापी मनका आँखा छोप्न मात्र मान्छेहरू कालो चस्मा लगाउँछन् भन्ने सुनेथेँ । देवताजस्तो मान्छेबारे आफ्नै मन कालो हुन थालेको देखी मलाई आत्मग्लानी भो ।
– तपाईं, भोलिदेखि हाजिर भइहाल्नुहोस् । अँ, यो चिट लेखिदिएछु, आज बिहानै तपाईंको प्रोब्लम सुनिसकेँ । एकाउण्टबाट दुई हजार एड्भान्स लिई जानुहोला ।
मेरा १० औँला आफैँ जोडिए, देब्रे आँखाबाट एक थोपा आँशु चुहियो । मैले उनको आँखा पढ्न पाइनँ, कालो चस्माले छोपिएका थिए ।
सरिता नामकी ती सेक्रेटरीले मलाई त्यहाँका अन्य सर मिस र करिब तीन सय ५० जति विद्यार्थीसँग चिनापर्ची गराइदिइन् । रुटिन र पढाउनुपर्ने केही पुस्तक बोकेर म डेरा फर्कें । केही नबोली राम साहुका हातमा दुई हजार थम्याइदिएँ । पैसा फर्काउँदै मसिनो डरमिश्रित स्वरमा राम साहुले भने – ‘रिसाउनु त भएको छैन हगि, बहिनी ?’ उनको कुरालाई वास्तै नगरी दुई प्याकेट रारा चाउचाउ किनेर म त्यहाँबाट हिँडेँ । मेरो जीवनमा यति सहज परिवर्तन आउँछ भन्ने सोचेकै थिइनँ । अब म समाजशास्त्रमा हैन प्राइभेटबाट राजनीति शास्त्रमा एम.ए. गर्ने सोचमा पुगेँ । किनभने, दिउँसो टी.यू. धाउने अब सम्भव थिएन । उत्साहपूर्ण दिनहरू बितेको पत्तै भएन । त्यहाँ पढाउन थालेको छ महिना बित्यो । केही सरसल्लाह गर्न राम सरको कोठामा गइरहनुपथ्र्यो तर, अचेल म भित्र छिरेपछि सरिता बाहिरिन्थी । सरले कालो चस्मा खोलेर मलाई हेर्दा मलाई आफू कतै त्यहाँ निर्वस्त्र त बसेकी छैन भन्ने लाग्यो । लाजले मेरा आँखा झुक्न पुग्थे । सरका आँखाले मेरा अङ्ग अङ्गलाई स्पर्श गरिरहेजस्तो लाग्थ्यो । तर, केवल यो मेरै मात्र भ्रम हुन सक्ने सोच्दै म बाहिरिन्थँे त्यहाँबाट । तर, मनभित्र भने कुनै बेला कुनै नमीठो घटना हुन सक्ने शङ्काले मलाई पछ्याउन थाल्यो ।
लक्ष्मीपूजाको बिहान सरिताले फोन गरिन् ।
– अनुराधा म्याडम ! आज स्कूलमा लक्ष्मी पूजा गर्ने रे ! अरू सरम्यामहरू आ–आफ्नो घर जानुभा रैछ । तपाईं र मलाई भने सरले बोलाउनुभा छ । ५ बजेतिर पुग्नुहोस् है ।
– प्राइभेट सेक्टरमा काम गरेपछि यसरी निजी समय पनि दिनुपर्ने रहेछ । मैले स्कूल जाने तयारी गरेँ ।
सरिताले नै मेनगेट खोलिन् । पालेसमेत रहेनछ । पूजा कोठामा झिलिमिली बत्ती बलिरहेका थिए । सेफको भित्तामा लक्ष्मीको तस्वीर राखिएको थियो । छेउको टेबुलमा पूजा सामान हजारका नोटका केही बण्डल र जुस थिए । पूजा सुरु भयो, सरिताको मोबाईल बज्यो । उनी कुरा गर्दै कोठा बाहिर गइन् । राम सरले मलाई प्रसाद दिनुभयो । पेडा मुखमा हाल्दै गर्दा उनले मेरो हातमा एक गिलास थम्याई दिनुभयो । आफूले पनि गिलासबाट जुस पिउन थालेँ । जुस पिएको १० मिनेटजति पछि मलाई शरीरमा रक्सीको मात चढेजस्तो झमझम हुन थाल्यो । अहँ, त्यो रक्सीको नशा थिएन । त्यति मदहोश हालतमा म जीवनमा कहिँल्यै पुगेकी थिइनँ । मलाई कुनै साह्रो वस्तुलाई ग्वार्लाम्म अँगालो हालुँजस्तो भइरहेको थियो । मेरो श्वासको गति बढेको देखेर राम सरले मेरा गालामा आफ्ना दुबै हत्केला राखेर सोधेँ, ‘के भो अनुराधाजी ?’ पुरुष स्पर्श थाहा नपाएकी एक जवान नारी थिएँ । काठको मान्छे पक्कै म थिइनँ । मेरा लोलाएका आँखा देखेर राम सर अझै उत्साहित भए । यसपाली उनले मेरा नाङ्गा ढाडमा हातले सुम्सुम्याउँदै छेउकै सोफामा पल्टिएर आराम गर्न भने । अनायास मेरो मुखबाट निस्कियो, ‘सरिता खै ?’
– ए ! उनी त अघि नै हिँडिसकी घर ।
– म आगो छेउ राखिएको नौनीझैँ पग्लिन थालेँ ।
कोठा बाहिरबाट सुुँइइइइइइ गर्दै रकेट उडेका र पटपट पटटटट पटाका पड्केको आवाज आइरह्यो । मलाई त्यो आवाज सङ्गीतको सारेगम जस्तो मिठासपूर्ण लाग्न थाल्यो । अब कस्तो छ भन्दै राम सरले मेरो केश सुुम्सुम्याउन थाले । मैले बिस्तारै आँखा चिम्लेँ । मेरो नाकछेउ कसैको श्वासको आरोहअवरोह सुने । रात छिप्पिँदै गयो । सर मबीचको लाज र मर्यादाको सीमा भत्क्यो । रातभरी सपना हो की विपनामा धेरैचोटी मैले आफ्नो शरीर गर्माएको र फेरी चिसिएको महशुस गरेँ । बिहान मैले सरसँग आँखा जुधाउन सकिनँ । उनले चोकसम्म गाडीले पुर्याईदिए । घरबेटी आमालाई त्रिपुरेश्वरमा सानी आमाकहाँ लक्ष्मीपूजा मनाएको बताएँ । नुहाई धुवाईपछि लिपिस्टिक झिक्न खोज्दा मैले ब्याग भित्र हजारको एक बण्डल भेटेँ । कसरी त्यत्रो पैसा ब्यागमा आयो होला भनी म आँत्तिए । तत्काल त्यसबारे खबर गर्न, हत्तपत्त मोबाइल थिचेँ । सरको स्वर सुनियो ।
– मैले बुझेँ, त्यो तिमीले नै राख्नु, जे हुनु भइहाल्यो, एक सपना सम्झनू, कुरा दुबैले गोप्य राखौँ । केही हुन्न, चिन्ता नगर । सर ‘तिमी’ सम्बोधनमा ओर्लिसकेका थिए ।
– मैले केही भन्न सकिनँ । अँ… ऊ… गरी फोन राखिदिएँ ।
सम्बन्ध सुरु गर्न मात्र गाह्रो । सुरु भएपछि सहज ढङ्गले अघि बढ्दो रहेछ । म अलि एकान्त र गोप्य स्थानमा डेरा सरेँ । सरको बेरोकतोक आवतजावत हुन्थ्यो । कहिले, धुलिखेल, कहिले नगरकोट, कहिले ककनी, कहिले के हो कुन्नि कुन रिसोर्टमा हाम्रो भेटघाट हुन थाल्यो । सरको मिसेज र छोराछोरी थिए । त्यसकारण पनि म यस सम्बन्धप्रति बारम्बार आत्मालोचना र पश्चात्ताप गरिरहन्थेँ । हेर्दाहेर्दै म असिस्टेन्ट प्रिन्सिपल भएपछि केही गाइँगुइँ त चलेको थियो । तर, कसैले मुख फोर्न सकेनन् । अलिअलि शङ्कास्पद मास्टर र कर्मचारी जागिरबाटै निकालिए ।
मेरो परिवार र सरले धेरै चोटी मलाई कुनै राम्रो केटा छानेर विवाह गर्न नभनेको हैन । तर, मलाई आफू बिटुलो भइसकेको नराम्रो महशुस हुन्थ्यो । फेरी विवाहपछि सरले केही गर्ने त होइन ? वा हामीबीचको सम्बन्ध पुनः लुकिछिपी जारी त रहन्न ? भन्ने विचार आउँथ्यो । मलाई सरदेखि अलि रिस पनि उठ्यो, डर र शङ्का पनि लाग्थ्यो र अलिकति माया पनि लाग्थ्यो । त्यसैले मैले विवाह गरी अर्को घटना जन्माउनेबारे सोच्दै सोचिनँ । मसँग अहिले बङ्गला, नोकरचाकर, गाडी, बैङ्कब्यालेन्स अर्थात् सुविधायुक्त जीवनका लागि आवश्यक सबै कुरा छन् । तर लुकिछिपी शरीरको तृष्णा मेट्ने साथी भएर पनि समाजलाई देखाउने औपचारिक जीवनसाथी छैन । मेरो बारे मलाई चिन्नेहरूले नानाथरी अड्कल र कुरा काट्छन् होला । त्यसको मलाई रत्तिभर चिन्ता र परवाह छैन । तर, त्यतिका बालबालिकाबीच स्कूलमा रम्ने मभित्र अझै आफ्नै रगतबाट बनेको एउटा बच्चा नभएकामा ठूलो पीर र चिन्ता छ । सधैँ नितान्त बालमोहबाट पीडित मैले आफूलाई एक असफल र अपूर्ण नारी ठान्ने गरेकी छु ।
प्रतिक्रिया