प्रधानमन्त्री दाहालको विश्वास : चीनको विकासले नेपाललाई पनि सहयोग

काठमाडौं, चैत्र १३ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको आर्थिक, सामाजिक विकासले नेपालको आर्थिक सामाजिक विकासमा ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
बेइजिङस्थित नेपाली दूताबासले शनिबार साँझ आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले चीनले नेपालमा शान्ति र विकास चाहेकोप्रति हामी सराहना व्यक्त गर्दछौं भने ।
बेइजिङस्थित नेपाली दूताबासले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री दाहालले दुई वर्ष अगाडि नेपालमा आएको विनाशकारी भूकम्पपछि चीनले तत्कालै गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै चीन नेपालका लागि असल मित्र र असल साझेदार भएको बताए ।
‘हाम्रो सम्बन्ध अटुट रहिआएको छ, हाम्रो सम्बन्ध पञ्चशीलको सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा कायम रहिआएको छ’ उनले भने । आकार र अर्थतन्त्रमा साना ठूला भए पनि चीनसँगको सम्बन्धलाई नेपालले ठूलो महत्व दिएको उनको भनाई थियो ।
प्रधानमन्त्री दाहालले भने, ‘मैले एशियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिएर आएको छु र सो सम्मेलन नेपाल जस्तो देशका लागि फलदायी हुने विश्वास लिएको छु ।’
चीनका उपप्रधानमन्त्री झाङ गाओलीसँगको बोआओमा भएको भेटवार्ताले दुई देशबीचको सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । उनले चीनमा बसिरहेका नेपालीले पनि नेपाल–चीन सम्बन्धलाई बलियो बनाउन सहयोग पुर्याउन सक्ने बताए ।
प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति सि जिनपिङ तथा अन्य चीनियाँ अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको र त्यसबाट नेपाल–चीन सम्बन्ध नयाँ उचाईमा पुग्ने पनि बताए । उनले दुई देशबीच विगतमा भएका सम्झौता कार्यान्वयनलाई अघि बढाउन नेपाल अग्रसर रहेको र नेपाल ‘एक क्षेत्र एक सडक’ अवधारणामा सहभागी हुन इच्छुक रहेको पनि बताए ।
प्रधानमन्त्री दाहालले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चीनियाँ जनताप्रति नेपाली जनताको ठूलो सद्भाव रहेको बताए ।
चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले प्रधानमन्त्री तथा उनको प्रतिनिधि मण्डललाई स्वागत गर्दै यस्ता उच्चस्तरीय नियमित भ्रमणले दुई देशबीचको सौहार्दपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुग्ने बताए ।
सोही अवसरमा चीन सरकारका उच्च अधिकारी, नेपालका मित्रहरू, चीनस्थित नेपाली समुदाय र नेपालका लागि चीनका पूर्वराजदूतहरू व्यापारी वर्ग तथा बौद्धिक समुदायको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया