सभापति देउवा केन्द्रीय कार्यसम्पादन समितिलाई पूर्णता दिने तयारीमा

काठमाडौं, चैत्र १३ ।
सत्तारुढ दल नेपाली कांग्रेसको आज लामो समयपश्चात् केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ । बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिलाई पूर्णता दिने तयारी रहेको कांग्रेस श्रोतले जनाएको छ ।
योसँगै बैठकमा संविधान संशोधन, स्थानीय तहको निर्वाचन र पार्टीको आन्तरिक संगठन व्यवस्थापनलगायतमा समेत छलफल हुने जनाएको छ ।
सोही बैठकमा सभापति देउवाले नेतृत्व लिएको एक वर्षमा संगठन थप शिथिल बन्दै गएको भन्दै अर्का वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असन्तुष्टी जनाउने तयारी रहेको बुझिएको छ । देउवाले कांग्रेसको नेतृत्व लिएको यही चैत्र ५ गतेबाट एक वर्ष पूरा भएको छ ।
दुई महिनाभित्र सम्पन्न गर्नुपर्ने पार्टी केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन नसकेको, उपसभापति, महामन्त्री र सहमहामन्त्री नियुक्ति, विभाग, कार्यसम्पादन समिति, संसदीय समितिलगायत पार्टी संरचनालाई पूर्णता बनाउन नसकेको भन्दै पौडेल पक्षले आलोचना गर्दै आएको छ भने अर्को केन्द्रीय कार्यसमितिको बैठकसमेत नियमित गर्न नसकेको आरोप देउवामाथी लगाइएको छ ।
बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको घोषणा पत्र बनाउन समिति गठन, विभागको आवश्यकताअनुसार संख्या, निर्वाचन परिचालनसम्बन्धी बिषयलगायत विषयमा पनि छलफल हुने छ ।
पार्टी संरचना र विधानलाई प्रादेशिक संरचनाअनुसार समायोजन गरिने तयारी पनि गरिँदै छ ।
प्रतिक्रिया