‘मधेशको अधिकार प्राप्तिका लागि एक मात्र बलियो पार्टी बनाउनेपर्ने’ : मोर्चाका नेता

राजविराज, चैत्र १४ ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताएको छ ।
सप्तरीको गालीकान्डमा प्रहरीले चलाएको गोलीबाट ज्यान गुमाएका पाँच जना मधेशी मोर्चाका कार्यकर्ताको आइतबार मलेठस्थित राजविराज औद्योगिक क्षेत्रमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले सङ्घीय प्रणालीमा स्थानीय चुनाव गराउने अधिकार उपत्यकालाई नरहेको बताएका छन् ।
मधेशको स्थानीय चुनाव गराउने अधिकार मधेश सरकारको मात्र भएको दाबी गर्दै उनले भने, ‘यदि चुनाव गराउनु छ भने केन्द्रको गराओस् । केन्द्रको चुनाव गराएर स्थानीय तह दुरुस्त बनाएपछि मात्रै स्थानीय तहको चुनाव गराइनुपर्छ ।’
तराई मधेश लोकतान्त्रिक पार्टीका (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले सीमाङ्कनसहित संविधान संशोधनको प्रस्ताव आए मात्र निर्वाचनमा जाने बताए । यस्तै, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मुलुकका तीन ठूला दलबाट मधेशप्रति भेदभाव हुँदै आएको बताएका छन् ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले २ नम्बर प्रदेशलाई छाडेर निर्वाचन गराए पछि कुनै पनि सरकारले त्यहाँ निर्वाचन गर्न सक्दैन भनेका छन् ।
सोही श्रद्धाञ्जलिसभामा फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सीमाङ्कनलाई थाती राखेर वा छाडेर सहमति नहुने धारणा व्यक्त गरेका छन् ।
मधेशको अधिकार प्राप्तिका लागि एक मात्र बलियो पार्टी बनाउनुपर्ने कुरामा मोर्चाका शीर्ष नेताले सम्बोधनका क्रममा जोड दिएका छन् ।
प्रतिक्रिया