‘चीन विश्व आर्थिक वृद्धिको मुख्य चालक’ : प्रधानमन्त्री दाहाल

काठमाडौं, चैत्र १४ ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कम खर्च गरेर धेरै आम्दानी गर्न सकिने उपर्युक्त अवसर नेपालमा रहेको भन्दै चीनियाँ लगानीकर्तालाई लगानी गर्न आव्हान गरेको छ ।
बेइजिङ्मा आज आयोजना गरिएको ‘नेपालमा लगानीका अवसर’ विषयक एक अन्तक्र्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले नेपाल प्राकृतिक सुन्दरता, धार्मिक विविधता र आध्यात्मिक क्षेत्रमा धनी भएकाले पर्यटन क्षेत्रमा लगानीका अवसरहरू धेरै भएको र सस्तो श्रम नीति रहेकाले सरकारले लगानीका लागि जलश्रोत, सूचना प्रविधि तथा कृषि क्षेत्रको आधुनिकीकरणमा धेरै अवसर दिएको स्पष्ट पारेका छन् । नेपालका सबै राजनीतिक दल आर्थिक समृद्धि र वैदेशिक लगानीका सन्दर्भमा एकताबद्ध रहेको बताउँदै उनले लगानी, व्यापार तथा आर्थिक सुधारलाई नेपालले विशेष प्राथमिकता दिएको जानकारी गराए ।
भैरहवा, पोखरा र नीजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई नेपालले विशेष प्राथमिकताका साथ अगाडि बढाएको उल्लेख गर्दै उनले अन्तरदेशीय आर्थिक क्षेत्रको विकास र विस्तारमा आफू र आफ्नो मुलुक प्रतिबद्ध रहेको बताए ।
मुलुकको आयात तथा निर्यात नीति बजारमैत्री, खुला तथा उदार रहेको स्पष्ट पार्दै उनले नेपालको मुख्य लक्ष्य उदार आर्थिक नीतिलाई अवलम्बन गरेर पारदर्शी एवं लगानीमैत्री वातावरण निर्माण भएको जानकारी गराए ।
विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको लगानीको अवसरका विषयमा नजिकबाट नियाली रहेको उल्लेख गर्दै उनले ती संस्थाले पनि नेपाललाई लगानीको अवसर भएको मुलुकका रूपमा चित्रण गरेकाले चीनियाँ लगानीकर्ताका लागि यो उपर्युक्त अवसर भएको बताएका छन् ।
नेपालको दोश्रो ठूलो व्यापारिक साझेदार तथा वैदेशिक लगानी (एफडीआई) गर्ने मुख्य मुलुक चीन भएकोे बताउँदै प्रधानमन्त्री दाहालले गत फागुनमा भएको लगानी सम्मेलनमा नेपालमा लगानी गर्ने प्रतिबद्धता जनाइएकोमध्ये चीनियाँ लगानीकर्ताले ६१ प्रशितभन्दा बढी प्रतिबद्धता जनाएको उल्लेख गरे ।
प्राचीनकालदेखि नेपाल र चीनबीचको हिमालय क्षेत्रमा हुने गरेको वस्तु आयात निर्यातबाट विस्तार भएको नेपाल–चीन दुई देशबीचको व्यापार पछिल्लो समयमा उल्लेखनीय रूपमा थप सुदृढ हुँदै गएको प्रम दाहालले उल्लेख गरे ।
विश्व आर्थिक वृद्धिको मुख्य चालक भएको र वित्तीय क्षेत्र मुख्य क्षेत्र भएको उल्लेख गर्दै उनले चीनको समृद्धिबाट दक्षिण एशियाली क्षेत्रले नै फाइदा लिनसक्ने धारणा व्यक्त गरे ।
प्रतिक्रिया