आरआर क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्वाचित

काठमाडौं, चैत्र १६ ।
रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुका तपेन्द्रबहादुर शाहीको प्यानल निर्वाचित भएको छ । गएराति भएको मतगणनामा अनेरास्ववियुका शाहीले छ सय ९९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत हरी पराजुलीले जानकारी दिए । शाहीसहित सचिव, कोषाध्यक्ष र आठ सदस्यको प्रत्यक्ष निर्वाचन प्रणालीअनुसार निर्वाचन भएको हो । उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका उत्तमबहादुर साउदले तीन सय ६७ मत प्राप्त गरेका छन् ।
सचिवमा नारायण शर्मा र कोषाध्यक्षमा संगम देवकोटा तथा अन्य आठ सदस्य निर्वाचिन भएका छन् । सदस्यहरूमा मदन भण्डारी, दीपक अतिवडा, उज्वल न्यौपाने, जनक शाही, दिनेश बजगाँई, श्याम विक, सुजिता ढकाल र उर्बर सिंह रहेका छन् । उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत समानुपातिक पदाधिकारी निर्वाचनमा आएको मतको आधारमा पछि चयन गरिने निर्वाचन अधिकृत पराजुलीले बताए ।
हिजो भएको निर्वाचनमा एक हजार दुई सय ७६ विद्यार्थीले मतदान गरेका थिए । दुई पटक स्थगित भएको निर्वाचन सर्वोच्च अदालतले चैत्र २ गते निर्वाचन गर्न अन्तरिम आदेश दिएपछि हिजो निर्वाचन भएको हो । निर्वाचन प्रक्रियामा अनेरास्ववियु (क्रान्तिकारी) सहभागिता भने थिएन ।
प्रतिक्रिया