सशस्त्रको टेण्डरमा सेटिङै–सेटिङ, घुसमा कुरा मिलेपछि रङ्गै परिवर्तन(प्रमाण सहित)

प्रकाशित मिति: २७ माघ २०७४, शनिबार १२:३१


काठमाडौं, माघ २७ ।
सशस्त्र प्रहरी बलमा तल्लो पददेखि महानिरीक्षकसम्मको पोशाक खरानी रङको हुन्छ । पोशाकदेखि गाडी समेत खरानी रङकै हुन्छ । सशस्त्र प्रहरीले बोक्ने ब्यागदेखि सबै कुरा खरानी रङकै हुन्छ । तर सशस्त्र प्रहरी बलले २०७४ माघ ५ गते निकालेको टेण्डरमा १० हजार थान रुकस्याक ब्याग(ठूलो झोला) नेपाल प्रहरीकै जस्तो निलो रङको खरिद गर्ने तयारी गरेको छ ।

सशस्त्रले गरेको बोलपत्र आह्वानका क्रममा स्लिपिङ व्याग र रुकस्याक व्याग (ठूलो झोला) नीलो रङको लिने सूचना प्रकाशित भएपछि सशस्त्रमा चर्को विवाद भएको छ । सशस्त्रले १७ किसिमको सामानका लागि टेण्डर गरेकोमा रुकस्याक ब्याग र स्लीपीङ ब्यागमा सबैभन्दा बढी चलखेल भएको छ ।

नेपाल प्रहरीमा आपूर्ति गर्नका लागि खरिद गरेको रुकस्याक ब्याग र स्लीपीङ ब्याग स्टक भएका ठेकेदारको डिजाइनमा सशस्त्रले निलो रङको खरिद गर्ने गरी स्पेसिफिकेसन परिर्वतन गरेको छ । खरानी रङको मात्र खरिद गर्दैआएको सशस्त्रले निलो रङको रुकस्याक ब्याग र खरिद गर्नका लागि स्पेसिफिकेसन परिवर्तन गरेको हो ।

५ हजार ५ सय थान स्लिपिङ व्याग र १० हजार थान रुकस्याक व्यागका लागि टेण्डर आह्वान भएको छ । एकपटक टेण्डर निस्किएर खुलिसकेपछि पनि अख्तियारमा उजुरी परेर विवाद भएपछि सशस्त्रले रद्द गर्नुपरेको थियो । यसपटक पनि खरानी रङ परिवर्तन गरी निलो रङको रुकस्याक ब्याग र स्लीपीङ ब्यागका लागि गरिएको टेण्डर पनि रद्द हुने संभावना छ ।

सशस्त्रका अधिकारीहरू संगठनमा सबै रङ खरानी भए पनि स्लिपिङ व्याग र रुकस्याक व्याग किन नीलो लिन लागेको भन्दै चौतर्फी विरोध जनाएपछि यस पटकको टेण्डर पनि सफल नहुने स्थितिमा पुगेको छ । सशस्त्रमा काम गरिरहेका कुनै ठेकेदारसँग नीलो रङको स्लिपिङ ब्याग एवं रुकस्याक ब्याग भएकै कारण ती ठेकेदारसँग अग्रिमरूपमा मोटो रकम लिई उसैको स्पेक हालेर टेण्डर निकालिएको चर्चा छ । यो टेण्डर स्वीकृतिका क्रममा धेरै आर्थिक चलखेल भएको समाचार छ ।


अहिले टेण्डर खोलिएको भए पनि आइजीपी सिंहबहादुर श्रेष्ठ चैत २८ गते अवकाश हुने भएपछि त्यसपछि बन्ने आइजीपीको कार्यकालमा ठेकेदारहरूले सामान बुझाउने अवस्था छ । अरू सबै रङ खरानी भए पनि स्लिपिङ व्याग र रुकस्याक व्याग नीलो राख्ने कार्यमा संगठन प्रमुख श्रेष्ठसमेत मुछिएका छन् । ६ महिनाअघि नै सरुवा भएर पनि प्रबन्धमै ठेक्कामा सेटिङ गर्दैआएका डीएसपी पूर्ण साउदको योजनामा रुकस्याक ब्याग र स्लीपीङ ब्यागको स्पेसिफीकेसन परिवर्तन गरी निलो रङको खरिद गर्न लागिएको स्रोतले बताएको छ । स्रोतका अनुसार डीएसपी साउद र आइजीपी श्रेष्ठको योजना अनुसार ठेकेदारसँग सेटिङ गरी स्पेसिफिकेसनमा रङ परिवर्तन गरिएको हो ।

१७ वटा आइटमहरूको टेण्डर सशस्त्रले माघ ५ गतेमात्रै सूचना निकालेको हो । आइजीपी श्रेष्ठको कार्यकाल ६ महिनामात्र छ । यो छोटो अवधिमा ठेकेदारहरूले ठेक्का पाएर पनि सामान बुझाउन मुस्किल देखिन्छ । ठेक्का पाएर सामान बुझाउन नसकेका खण्डमा या कमसल सामान बुझाएका खण्डमा त्यस्ता ठेकेदारका फर्महरूलाई कालोसूचीमा राख्ने प्रक्रिया यसअघिबाट नै सुरु भइसकेकाले यस पटकको सशस्त्रको ठेक्का प्रक्रिया पनि सफल हुने संभावना कम रहेको बताइन्छ ।


प्रतिक्रिया

ताजा खबर

More

राताे मच्छिन्द्रनाथकाे मर्मत कार्य सम्पन्न, भाेलि पुनः तानेर लगनखेल पुर्‍याउँदै

काठमाडाैं, जेठ ४ । वर्षा, अन्न र सहकालकाे देवताकाे रूपमा प्रसिद्ध ललितपुर महानगरपालिकामा.....