अलबिदा… ! प्रिय कविता… !! अलबिदा… !!!
सुधीर ‘ख्वबि’
प्रिय कविता… !
म मरेको खबर तिमीले
मनले सुन्छ्यौ कि कानले
अनि कति रुन्छ्यौ होला !
के तिमी रोएको, चिच्याएको
मैले सुन्न वा देख्न सकुँला ?
(जरुरी छैन, त्यसैले प्रिय कविता तिमी नरुनु यो कविको अवसानमा)
प्रिय कविता… !
जब तिमी सपनाको प्वाँख सजाएर
क्षितिज चहार्न मेरो कलमबाट
केही मसि बिदा माग्न आउँञ्छ्यौ नि… !
त्यसबेला त म हाँसेरै स्वागत गर्नेछु
तिमीले चाहेको सबथोक पुगाई दिनेछु ।
(तिमीलाई राम्ररी नै थाहा छ , म नाईं भन्न सक्दिन)
प्रिय कविता… !
जब तिमीले उडान भर्न सुरु गर्छ्यौ नि
अनि जब देख्छ्यौ क्षितिज पारीका चमक
तब म उभिएको भूमि पनि तिमीलाई
बिरानो लाग्न सक्छ कि सक्दैन !
म सोच्दिँन यी सम्भाव्यताका फजुल कुराहरू ।
(अनर्गल भविष्यवेता हैन म, संसार रित्तिने कुराको संकेत गर्न)
प्रिय कविता… !
जब तिमी गयौँ मेरो नजरबाट ओझेल भएर
सप्तरङ्गी सपनाको तिर्खालु प्वाँख सजाएर
टाढा धेरै टाढा सपनाको त्यो बिरानो देशमा
एक मुठी सम्पन्नतामा सम्मोहित भएर
सुन्दर आफ्नै फूलबारीलाई पैतालाले कुल्चेर ।
(म त्यो दिन अत्यन्त उदास जिएँ, साथमा मेरो कलम अनि खाली डायरी पनि)
प्रिय कविता… !
जुन पल तिमीले मेरो मनको संघार तर्यौ
त्यो पल महाप्रलयको पल नै भयो
यो मनभित्र आएको बिछोडको भुइँचालोले
मेटाउन थालेका जिन्दगीका इन्द्रेणीहरू
निःशब्द थिएन यद्यपि म भित्रका ती छटपटीहरू, तर पनि
(तिमीले सुनेनौँ वा सुन्ने प्रयास गरेनौँ अथवा चाहेनौँ)
प्रिय कविता… !
तिमीलाई हतारो थियो त्यसबेला
एकचोटी पनि यसो फर्केर पनि हेरेनौँ
आफ्नो प्रिय ? कविको सजल मन
उदास त्यो कलमको छटपटी
अनि बञ्जर बनेका डायरीका जमिन
(के यस्तो पनि हुन्छ र, मलाई विश्वाश नै लागेन आफ्नो सजल मनप्रति)
प्रिय कविता… !
जब तिमी फर्किन्छ्यौ नि, कालान्तरमा
न्यून सम्भावनाको घेरा छिचोलेर
सम्पन्नताको अहम मुहारभरी पोतेर
त्यति बेलासम्म यो कवि, कलम र डायरी
कतै खोला किनारमा खरानी बनि सेलिसकेको हुनेछ
(तिमी आफ्नो सम्पन्नता कसलाई, कसरी देखाउँछ्यौ ?)
अलबिदा… ! प्रिय कविता… !! अलबिदा… !!!
प्रतिक्रिया