आज कृष्ण जन्माष्टमी, कृष्ण मन्दिरमा दर्शनार्थीहरूकाे ठूलाे भीड

प्रकाशित मिति: ३ भाद्र २०७९, शुक्रबार ०८:१५


काठमाडाैं, भाद्र ३ ।
आज भाद्र कृष्ण जन्माष्टमी । हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आराधना गरी धुमधामका साथ मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ पनि भन्ने गरिन्छ ।

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ। कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि बासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रूपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ। कंसले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो ।

कुरुक्षेत्रमा कौरबहरूसँगको लडाईमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उनका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए ।

साेही अवसरमा देशभरीका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरू ‘ब्रत’ बसी रातभर जाग्राम बस्ने गर्छन् ।

यस अवसरमा आज ललितपुरकाे दरबार स्क्वायर मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिर, उपत्यकाको पूर्वी भेगस्थित गोठाटारको नवनतधाम र उत्तरी भेगस्थित बुढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कृष्ण मन्दिरमा पनि विशेष मेला लाग्दछ । यसै उपलक्ष्यमा देशभर विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकाल्ने चलन पनि रहेकाे छ ।

आज कृष्ण जन्माष्टमीकाे विशेष दिनमा ललितपुरकाे मंगलबजारमा अवस्थित २१ गजुरकाे प्यागाेडा शैलीमा निर्माण गरिएकाे कृष्ण मन्दिरमा बिहान ३ बजेदेखि दर्शनार्थीहरूकाे ठूलाे भीड लागेकाे छ । दर्शनका लागि काठमाडाैं उपत्यकाका विभिन्न स्थानबाट दर्शनार्थीहरू आउने गर्छन् । यस्तै आज कृष्ण भगवानकाे दर्शन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पनि आउने भएकी छन् । उनलाई स्वागत गर्न ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उप–प्रमुख मञ्जरी शाक्य, वडा अध्यक्षहरू एवं विशिष्ट व्यक्तिहरूले स्वागत गर्ने तयारी रहेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

चीनकाे एक काेइला खानीमा विष्फाेट, पाँच जनाकाे मृत्यु

एजेन्सी, जेठ ८ । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तस्थित एक कोइला खानीमा दुर्घटना हुँदा.....