रूपन्देहीलाई हराउँदै धनगढीको चौराहा टीम डीपीएलको फाइनलमा प्रवेश

काठमाडौं, बैशाख ७ ।
सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा जारी रहेको धनगढी प्रिमियर लिग (डीपीएल)को दोश्रो प्लेअफमा रूपन्देही च्यालेञ्चर्सलाई ९२ रनले पराजित गर्दै धनगढी टीम चौराहा फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा एक सय ७२ बनाउँदै रूपन्देहीलाई एक सय ७३ रनको लक्ष्य दिएको थियो । रूपन्देहीले १५ ओभर २ बलमा ८० रनमा सीमित हुन पुगेको थियो । ललित राजवंशी र सौरभ खनालले रूपन्देहीको ३÷३ विकेट झारेका थिए । रूपन्देहीका लागि राजेश पुलामी मगर र कृष्ण कार्कीले १४ र पुष्प थापाले १३ रन बनाउनु बाहेक अरूले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
उसका लागि कप्तान पारस खड्काले सर्वाधिक ६७ रन बनाए । ४१ बलको सामना गरेका उनले ६ चौका र ४ छक्काको मद्दतमा ६७ रन बनाएका हुन् । यस्तै राजु रिजालले २५, अनिल मण्डलले १३, अमर रौतेलाले २४ रनको योगदान दिए ।
यस्तै विष्फोटक ब्याटिङ गरेका सौरभ खनालले ८ बलमा २ चौका र २ छक्काको मद्दतमा २४ रन जोडे । रूपन्देहीका कृष्ण कार्कीले २ तथा विक्रम भुषाल र शाहब आलमले एक एक विकेट लिए । धनगढीले अब उपाधिका लागि विराटनगर किङ्ग्ससँग प्रतिस्पर्धात्मक खेल खेल्नेछ ।
प्रतिक्रिया